लम्कीचुहामा ठेकेदारले काम रोकेपछि अस्पताल अलपत्र

लम्कीचुहा : कैलालीको लम्कीचुहा नगरपालिका –१० चुहामा सामुदायिक अस्पताल निर्माणको कार्य अलपत्र परेको छ। निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो।
काम गरेवापतको भुक्तानी बाँकी रहेको भन्दै निर्माण कम्पनीले काम रोकेको छ। दुई वर्षभित्र ५० शय्याको सामुदायिक अस्पताल तयार पार्नेगरी ठेक्का पाएको केएस–शनिदेव जेभी महेन्द्रनगरले झन्डै दुई वर्षदेखि अस्पतालको काम गरेको छैन। डेढ वर्षसम्म निर्माणको काम गरेर कम्पनीले बाँकी काम रोकेर राख्दा पाँच वर्षसम्म अस्पताल बन्न सकेको छैन।

५० लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको भन्दै निर्माण कम्पनीका ठेकेदारले बाँकी काम नगरेको वडा अध्यक्ष हर्कबहादुर कठरिया थारुले बताए। बजेट अभावको कारण अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै उनले थपे, “भुक्तानी बाँकी रहेको भन्दै ठेकेदारले काम रोकेको केही वर्ष भइसक्यो। अस्पताल निर्माणको कार्यले पूर्णता नपाउँदा बनेका संरचनामा क्षति भइरहेको छ।”
अस्पताल भवनको निर्माण कार्य अझै धेरै बाँकी छ। चार–पाँच वटा क्वार्टरसहितका केही संरचना भने तयार भइसकेका छन्। अधुरो अस्पताल र बनेको संरचनाको संरक्षण हुन सकेको छैन। क्वार्टर र अस्पताल भवन लागुऔषध दुव्र्यसनमा फसेका युवायुवतीको गलत कार्यस्थल बनेको जनाइएको छ।
त्यस्तै, झ्याल, ढोका, सीसा लगायतका संरचनामा क्षति गरेको छ। रेखदेख गर्ने कोही नहुँदा बनेको संरचनामा क्षति गर्ने, सामान चोरी गरेर लैजाने लगायतका कामहरु भइरहेको वडा अध्यक्ष कठरिया थारुको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
