बिश्व

अस्ट्रेलियामा किशोर–किशोरीलाई सामाजिक सञ्जाल बन्देज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो मुलुक अस्ट्रेलिया बनेको छ । यो प्रावधानलाई अभिभावक तथा बाल–अधिकार समर्थकले स्वागत गरेकाछन् । यो कदमलाई प्रविधि कम्पनीहरू र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले भने आलोचना गरेका छन्।

मंगलबार मध्यरातदेखि प्रभावकारी बनेको नयाँ कानुनअनुसार टिकटक, युटयुब, इन्स्टाग्राम र फेसबुकसहित १० प्रमुख प्लेटफर्मलाई १६ वर्षमुनिका प्रयोगकर्ताको पहुँच रोक्न आदेश दिइएको छ । यो आदेश उल्लंघन गरेमा ४ करोड ९५ लाख अस्ट्रेलियन डलर (३करोड ३० लाख अमेरिकी डलर) सम्मको जरिवाना लगाइनेछ ।  यो नियमलाई विश्वभरका नियामक संस्थाहरूले नजिकबाट हेरिरहेका समाचार सस्था रोयटर्सले जनाएको छ ।  

बिज्ञापन

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई ‘परिवारका लागि गर्व गर्न लायक दिन’ भनेर टिप्पणी गरेका छन ।  

‘यसले ठूलो परिवर्तन ल्याउनेछ। हाम्रो राष्ट्रले सामना गरेका सबैभन्दा ठूलो सामाजिक तथा सांस्कृतिक रूपान्तरणमध्ये यो एक हो,’ उनले भने। यो गहिरो सुधार हो, जसको प्रभाव विश्वभर प्रतिध्वनित हुनेछ, उनले थपे  ।

भिडियो सन्देशमार्फत अल्बानीजले बालबालिकालाई नयाँ खेलकुद सुरु गर्न, नयाँ वाद्यवादन सिक्न वा केही समयदेखि दराजमा थन्किएको  किताब पढ्न आह्वान गरेका छन्। अस्ट्रेलियामा यसै महिनादेखि ग्रीष्मकालीन विद्यालय बिदा सुरु हुँदैछ ।  

किशोर–किशोरीको प्रतिक्रिया

१६ वर्ष उमेर टेक्न बाँकी रहेका केही किशोर–किशोरीले सामाजिक सञ्जालबिनाको जीवनबारे चिन्ता व्यक्त गरेकाछन भने कतिपय यो बिषयमा निष्पक्ष देखिएकाछन् ।

१४ वर्षीया क्लेयर नी भन्छिन्, ‘म खासै भावनात्मक भएकी छैन, म एकदमै निरपेक्ष छु।’ यसैगरी, १५ वर्षीया लुना डिजोनले टिकटक, इन्स्टाग्राम र स्न्यापच्याटमा अझै पनि आफ्नो पहुँच रहेको बताइन्, तर प्रतिबन्ध पूर्ण रूपमा लागू भएपछि ‘कल्चर सक’ हुन सक्ने चिन्ता व्यक्त गरिन्। ‘समयसँगै हामी यसको बानी पर्छौ होला भन्ने लाग्छ,’ उनले भनिन्।

अस्ट्रेलियाली सरकारले यो नियम कार्यान्वयन गर्न सहज नहुने स्वीकार गरे पनि, टिकटकमा मात्रै बुधबारसम्म करिब २ लाख  खाताहरू निष्क्रिय गरिएका छन्  र आगामी दिनहरूमा निष्क्रिय हुनेमा लाखौ खाता हुने जनाएको छ ।  

यो नयाँ कानुनले प्रभावित भएका अनुमानित १० लाख बालबालिकामध्ये धेरैले सामाजिक सञ्जालमै ‘गुडबाइ’ सन्देश लेखिदिएका छन्।

‘अब सामाजिक सञ्जाल छैन..। अब संसारसँग हाम्रो प्रत्यक्ष सम्पर्क छैन’, एक किशोरले टिकटकमा लेखे।

‘अब १६ बर्ष पुगेपछि फेरी फेटौला’ अर्काले लेखेका छन्  

नियमको विश्वव्यापी असर

कुनै पनि देशले वास्तवमै यस्ता समाजिक प्लेटफर्मबाट बालबालिकालाई टाढा राख्न सक्छ कि सक्दैन भन्ने विषयमा एक वर्षसम्म छलफल गरेपछि अब अस्ट्रेलियाले लिएको निर्णयले विश्वभरका अन्य देशका लागि पनि ‘प्रत्यक्ष परीक्षण’ सुरु गरिदिएको छ।

युवामा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण देखिएको मानसिक स्वास्थ्य समस्या गलत सूचना, अनलाइन दुव्र्यवहार, शारीरिक छवि सम्बन्धी गलत धारणा सहितका जोखिमहरूलाई आधार मानेर यो नियम ल्याइएको हो । उता, डेनमार्कदेखि न्युजिल्यान्ड तथा मलेसिया जस्तो कैयन यो मोडेलको अध्ययन गर्ने वा पछ्याउने संकेत दिएका छन् ।

एलन मास्कको सामाजिक सजाल ‘एक्स’ (यसअघिको ट्विटर)ले यो आफुले परिपालन गर्ने बताएको छ ।  

‘यो हाम्रो रोजाइ होइन  यो अस्ट्रेलियाली कानूनले मागेको हो,’ एक्सले आफ्नो वेबसाइटमा लेखेको छ, ‘ उमेर आवश्यकतामा नपुग्ने प्रयोगकर्तालाई प्रणालीले स्वतः हटाउँछ।’

सामाजिक तथा आर्थिक प्रभाव

समाजिक सजाल प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताबाट खासै विज्ञापन आम्दानी नआउने बताए पनि, यस प्रतिबन्धले भविष्यका सम्भावित प्रयोगकर्ताको मार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्। प्रतिबन्धअघि ८ देखि १५ वर्षका उमेर समुहका ८६ प्रतिशत  अस्ट्रेलियाली बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्थे।

कतिपय किशोर–किशोरीले भने यो प्रतिबन्धले आफूजस्ता समान ‘समुदाय खोज्ने’ युवा वहिस्करणमा  पार्ने बताइरहेका छन्।

१४ वर्षीया एनी वाङ भन्छिन्, ‘क्वेयर समुदाय वा विशेष रुचि भएका व्यक्तिका लागि यो अझै कठोर हुनेछ, किनकि आफ्ना समान समुदाय पाउने माध्यम यही हो।’

‘केही मानिसहरू यही माध्यममार्फत आफ्ना भावनाहरू पोख्थे, मद्दत खोज्थे…। त्यसैले केहीका लागि ठिक होला, तर केहीका लागि मानसिक स्वास्थ्य झनै बिग्रिन सक्छ,’ उनले थपिन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।