रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार

काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दैछ ।
हिजो यो समितिले कांग्रेस, एमाले र नेकपाको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो । समितिले आज बिहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपाको कार्यालय र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमन गर्ने कार्यक्रम छ । त्यसक्रममा ती पार्टीका नेताहरुसँग छलफल पनि हुनेछ ।

सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । सो समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउनका लागि दलका नेताहरुसँग भेटघाट तथा छलफल गर्दै आएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीब्रता दिएर दलहरुकै कार्यालयमा पुगेर वार्ता गरिरहेको बताए । ‘निर्वाचनको वातावरणका लागि सरकारले चरणवद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमान्दारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्ने सन्देश हो र दलहरुलाई सकारात्मक दबाव पनि हो,’ मन्त्री खरेलले भने ।
मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन र राजनीतिक दलहरुलाई पनि यसप्रति केन्द्रित गराउन सरकार दलको कार्यालयमै पुगेर वार्ता र संवाद गरिरहेको उल्लेख गरे । उक्त टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरुसँग वार्ता गरेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
