भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि विश्व राजनीतिमा हलचल

२० पुस, काठमाडौं । एक सार्वभौम र स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपले शनिबारयता विश्व तरंगित बनेको छ ।
अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेर देशको सरकार प्रमुखलाई नै बन्दी बनाउने अमेरिकी कदमको विश्वस्तरमा समर्थनभन्दा बढ्ता विरोध देखिन्छ ।

रुस, चीन लगायतका शक्ति राष्ट्र अमेरिकी कदमको विरोधमा उत्रिएका छन् भने अमेरिकाका साझेदार राष्ट्रहरूले सदाजस्तै प्रशंसा र मौन समर्थन जनाएका छन् ।
पछिल्लो केही हप्तादेखि चरमस्तरमा पुगेको दुई देशबीचको तनावपछि भएको अमेरिकी सैन्य हस्तक्षेपले भेनेजुएलालाई गहिरो अनिश्चिततामा धकेलेको छ ।
भेनेजुएलाको राजधानी काराकासको सडकमा आइतबार मदुरोको बर्हिगमनको खुसीयाली मनाउने र अमेरिकाको सैन्य हस्तक्षेपको विरोध गर्ने दुवैथरी समूह देखिएका छन् ।
दक्षिण अमेरिकाको उत्तरी तटमा पर्ने भेनेजुएलाको पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल र पूर्वमा गुयाना रहेको छ । उत्तरमा क्यारेबियन सागर र एटलान्टिक महासागर छन् । रणनीतिक रूपमा पनि भेनेजुएलाको अवस्थिति अमेरिका र युरोप जोड्ने प्रमुख समुद्री मार्गसम्म पहुँच राख्न सक्ने छ ।
विश्वकै सबभन्दा धेरै तेल भण्डार भएको देश हो, भेनेजुएला । उत्तर–पश्चिममा पर्ने मराकाइबो क्षेत्र र ओरिनोको बेल्टमा भेनेजुएलाको सबभन्दा ठूलो तेल भण्डार छ ।
२०औं शताब्दीको सुरुआतमा तेल भण्डार पत्ता लागेपछि भेनेजुएला दशकौंसम्म ल्याटिन अमेरिकामा सबभन्दा धनाढ्य देश बनेको थियो । तर, तेलमा आधारित राजस्वमाथिको निर्भरता, गलत आर्थिक कदम र राजनीतिक अस्थिरताका कारण भेनेजुएलाको आर्थिक स्थिति कमजोर हुँदै गयो ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारेल कच्चा तेल छ, जुन विश्वकै भूमिगत कच्चा तेलको स्रोतको लगभग पाँचौं हिस्सा हो ।
यही ‘कालो सुन’ नै भेनेजुएलामा अमेरिकी प्रशासनले तीव्र रुचि देखाउने मुख्य कारण हो । अमेरिका आफैं तेलको ठूलो उत्पादक देश हो, सोही कारण उसलाई भारी मात्रामा कच्चा तेलको आवश्यकता पर्दछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
