अवर्गीकृत

स्थानीयलाई खुकुरी देखाएर आतंकित बनाउने वडाध्यक्षलाई उन्मुक्ति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्थानीयलाई खुकुरी देखाएर आतंक सिर्जना गर्ने पोखरा महानगरपालिका– ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले उन्मुक्ति दिएको छ । गत शुक्रबार पोखरा– ३३ स्थित झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माणका विषयमा भएको विवादमा वडाध्यक्ष अधिकारीले खुकुरी देखाएका थिए । प्रहरीले तत्कालै घटनास्थलबाट खुकुरीसहित उनलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीले कसैको उजुरी नआएको भन्दै वडाध्यक्षलाई त्यसै छाडेको हो । 

ल्यान्डफिल साइट निर्माणको विपक्षमा रहेका स्थानीयले शुक्रबार नाराबाजीसँगै वडा कार्यालयको मूलगेट र वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए । स्थानीयले तालाबन्दी गरेपछि गाडीमा आएका वडाध्यक्ष अधिकारी र स्थानीयबिच विवाद भएको थियो । विवादकै बिचमा वडाध्यक्षले आफूले लगाएको ज्याकेटको चेन खोली खुकुरी निकालेका थिए । ‘बिहान कुरा गरेर गएको होइन, अनि किन तालाबन्दी र नाराबाजी गरेको, को हो यहाँ ताला लगाउने, नराबाजी गर्ने देखाइदिउँ’ भन्दै खुकुरी निकालेर स्थानीयलाई प्रहार गर्न लाग्दा सँगै रहेको प्रहरीले तत्कालै समातेका कारण कुनै अप्रिय घटना भएन । वडाध्यक्षले खुकुरी प्रदर्शन गरेपछि आफूहरूको सुरक्षा हुनुपर्ने भन्दै स्थानीय शुक्रबार नै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

बिज्ञापन

‘हामीले वडाध्यक्षलाई खुकुरीसहित घटनास्थलबाट रंगेहात नियन्त्रणमा लिएका हौँ । नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणलगायत भयो । २४ घण्टा नियन्त्रणमा राख्यौँ । नियन्त्रणमा लिएको २४ घण्टाभन्दा बढी समय राख्ने अधिकार छैन, कसैबाट जाहेरी नआएपछि आफन्तको जिम्मा लगाएर छाडेको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले भने । 

खुकुरी प्रदर्शन गर्ने वडाध्यक्षलाई प्रहरीले त्यसै छाडेपछि स्थानीय झन् त्रसित बनेका छन् । ल्यान्डफिल साइट निर्माणसँगै जग्गा खरिद बिक्रीमा बिचौलिया प्रवेश गरेकाले समस्या आएको हो । यसअघि पोखरा– १४, बाच्छे बुडुवामा ल्यान्डफिल साइट रहेकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द भएको थियो । सञ्चालनमा रहेको ल्यान्डफिल साइट बन्द भएपछि पोखराको फोहोर अस्थाही रूपमा ६ महिनाको समय तोकेर पोखरा–३२ स्थित लामेआहालमा लगेर फाल्न सुरु गरिएको थियो । ६ महिनाका लागि भनिएकोमा करिब साढे तीन वर्ष हुन लाग्दासमेत स्थायी साइट तयार हुन सकेको छैन । फोहोरसमेत लामेआहालमा फाल्ने गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।