राजनीति

पार्टी समायोजनबारे रन्जिताको प्रस्टीकरण- निरन्तर षड्यन्त्रले कठिन निर्णय लिन बाध्य बनायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृले पार्टी नेतृत्व सम्हाल्दाको क्रममा निरन्तर षड्यन्त्रको सामना गर्नुपरेको बताएकी छन्।

महिलाले नेतृत्व गर्दा काम गर्न नदिने, अविश्वास र अवरोध सिर्जना गर्ने प्रवृत्तिका कारण अन्ततः आफू समायोजनको कठिन निर्णय लिन बाध्य भएको उनको भनाइ छ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले अध्यक्षको जिम्मेवारीमा रहँदा आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने बदनियत राखेर अवैधानिक राष्ट्रिय भेला आयोजना गर्ने प्रयास गरिएको उल्लेख गरेकी छन्। तर ती प्रयासलाई निर्वाचन आयोगले समयमै र स्पष्ट रूपमा अस्वीकार गरेको भन्दै विधानविपरीत गरिएका गतिविधि दीर्घकालीन रूपमा सफल नहुने प्रमाणित भइसकेको उनले बताइन्।

उनका अनुसार अध्यक्ष हुँदाहुँदै पनि कहिले सीमित केन्द्रीय सदस्यको हस्ताक्षरको आडमा त कहिले अवैधानिक भेलामार्फत नेतृत्वबाट हटाउने असफल प्रयासहरू पटक-पटक दोहोरिए। यस्ता घटनाक्रमका बीचमा पनि आफू लोकतान्त्रिक मूल्य-मान्यता र विधिसम्मत अभ्यासबाट कहिल्यै विचलित नभएको उनको दाबी छ।

उनले संसदभित्र आफूलाई एक्लो पार्ने प्रयास, पार्टी संरचना जोगाउने जिम्मेवारी बोकेका व्यक्तिहरूबाटै पार्टीलाई गहिरो क्षति पुग्ने गतिविधि, र नेतृत्व कमजोर बनाउने योजनाहरू क्रमशः अघि बढाइएको बताइन्। पार्टी फुटको पीडा र षड्यन्त्रको गम्भीर असर आफूले नजिकबाट भोगेको उनको भनाइ छ।

स्वार्थका लागि गरिने विद्रोहलाई विद्रोह भन्न नमिल्ने उल्लेख गर्दै उनले त्यसलाई संगठन र प्रणालीमाथिको घातको संज्ञा दिएकी छन्। अराजक, स्वार्थी र विघटनकारी राजनीतिक अभ्यासलाई कुनै पनि जिम्मेवार नेतृत्वले स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारेकी छन्।

महिला नेतृत्वप्रति देखिने असहिष्णुता र निरन्तर षड्यन्त्रकै कारण अन्ततः आफू नेपाली कम्युनिस्ट पार्टीसँग समायोजन भएको जनाउँदै उनले यो निर्णय कुनै आवेगमा नभई अनुभव, संघर्ष र सिद्धान्तबाट निस्किएको निष्कर्ष भएको बताइन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।