नयाँ सरकार बन्न अझै १० दिन लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने सहमतिमा अडिग रहेको स्पष्ट पारेको छ । चुनावी परिणामपछि बालेनलाई संसदीय दलको नेता बनाउन प्रक्रियागत ढिलाइ भए पनि पूर्वसमझदारीबाट पछाडि नफर्किने रास्वपाले स्पष्ट पारेको हो । बालेनलाई संसदीय दलको नेता बनाउनेमा शंका नगर्न रास्वपा प्रवक्ता मनिष झाले आग्रह गर्नुभयो । उहाँलाई संसदीय दलको नेता बनाउने विषयमा आन्तरिक र अनौपचारिक छलफल चलिरहेकाले चाँडै निर्णय गर्ने उहाँले बताउनुभयो । ‘संसदीय दलको नेता बनाउने प्रक्रियाको लागि विधान संशोधन गर्नुपर्ने हुन्छ । यसको लागि केन्द्रीय समितिको बैठक कुर्नुपर्छ । दलको नेता बनाउन प्रक्रियागत ढंगले अगाडि बढाउनुपर्ने र केही नेताको उपस्थिति पर्खिएका छौँ । स्वास्थ्य अवस्थाको कारण नेतालाई कुरिरहेका छौँ,’ सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले भन्नुभयो, ‘आन्तरिक र अनौपचारिक छलफल गरेका छौँ ।’
बालेनलाई रास्वपामा भित्र्याउने समझदारीमा उहाँलाई संसदीय दलको नेता बनाउने र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । बालेनलाई नै प्रधानमन्त्री बनाउने घोषणा गरेर रास्वपा चुनावमा गएको थियो, जसलाई मतदाताले समेत अनुमोदन गरेका छन् । प्रतिनिधिसभा चुनावमा रास्वपाले झण्डै दुईतिहाइ बहुमत पाएको छ । तर, संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भएकाले रास्वपाले विधान संशोधन गर्नुपर्ने भएको छ । यी प्रक्रियाको लागि अझै एक हप्ता जति समय लाग्ने रास्वपाको भनाइ छ । आन्तरिक विषय मिल्ने र समानुपातिकको सूची पनि बुझाइसकेपछि सरकार गठनको प्रक्रियामा प्रवेश गर्ने उहाँले बताउनुभयो । गत पुस १३ गते भएको सात बुँदे सहमझदारीमा सभापति लामिछाने र बालेनले हस्ताक्षर गर्नुभएको थियो । जसको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

सहमतिपछि जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै लामिछानेले आफू पछि हटेर भए पनि बालेनलाई देशको नेतृत्व सुम्पन तयार रहेको बताउनुभएको थियो । ‘बालेनले देश बनाउँछ । त्यसैले अबको प्रधानमन्त्री बालेन शाह हुन्, म उनको सारथि मात्र हुँ,’ उहाँले भन्नुभएको थियो । निर्वाचन परिणाम आएपछि पनि बालेनलाई दलको नेता चयन नगरिएपछि पुरानो सहमतिबाट नेताहरू ब्याक हटेका हुन् कि ? भन्ने आशंका उत्पन्न भएको थियो । आशंका बढिरहेकै बेला काठमाडौं-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री बालेन नै हुने भन्दै जथाभावी नबोल्न रास्वपाका नेताहरूलाई पनि चुनौती दिनुभएको थियो । रास्वपा एक्लैले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ ।
सभापतिलाई सञ्चो नहुँदा बैठक बस्न समस्या
बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाको विधान संशोधन गर्नुपर्ने छ । रास्वपाको विधान, २०७९ को धारा ६६ मा संघीय संसद्मा निर्वाचित प्रत्येक सदस्य संसदीय दलको सदस्य रहनेगरी प्रतिनिधिसभा संसदीय दल गठन गरिने उल्लेख छ । दलमा संसदीय दलको नेता एक, उपनेता एक, प्रमुख सचेतक एक, सचेतक एक र कोषाध्यक्ष एकजना रहने भनिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा उपनेता, सचेतक वा सदस्यसचिव दलको नेताले मनोनयन गर्न पाउने व्यवस्था छ । रास्वपा पार्टी विधानको धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । धारा ६६ को उपधारा ८ (क) मा भनिएको छ, ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । (दल नेताको) निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउनेछन् ।’
निर्वाचनमा खसेको मतको ५० प्रतिशत कटाउने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था विधानमा छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने व्यवस्था विधानमा गरिएको छ । पार्टीले सरकारको नेतृत्व लिए संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था पनि विधानमा छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपा संसदीय दलको नेता चयन भएपछि शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । विधान संशोधनका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्नुपर्छ । चुनावपछि रास्वपा केन्द्रीय समिति बैठक बसेको छैन । सभापति रवि लामिछानेलाई सञ्चो नभएकाले केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको हो । उहाँ आइतबार बसेको सचिवालय बैठकमा पनि भर्चुअल रूपमा मात्रै उपस्थित हुनुभएको थियो । सचिवालय बैठकमा वरिष्ठ नेता बालेन पनि उपस्थित हुनुभएको थिएन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
