घुस मागेको आरोप लागेपछि मुख्यमन्त्रीले नैतिकता देखाउनुपर्छः पूर्वमन्त्री चौधरी

धनगढीः सुदूरपश्चिम सरकारका पूर्व वन मन्त्री लक्ष्मणकिशोर चौधरीले घुस मागेको आरोप लागेपछि मुख्यमन्त्री कमलबहादुर शाहले नैतिकता देखाउनुपर्ने बताएका छन्।
विगतमा समेत यस्तै प्रकृतिका आरोप लाग्दा दुई/दूई जना मन्त्रीले पदबाट राजीनामा दिएको स्मरण गराउँदै पूर्व मन्त्री चौधरीले मुख्यमन्त्री शाहले पनि राजनीतिक रुपमा नैतिकता देखाउनुपर्ने बताएका हुन्।

एक वर्ष अगाडि गत चैतमा आफूले विवाद उठेपछि मन्त्रीबाट राजीनामा दिएको बताउँदै पूर्व मन्त्री चौधरीले अहिले उच्च तहकै कर्मचारीले मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाएपछि छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन्।
‘विवाद उठेपछि मैलै निष्पक्ष छानबिनका लागि राजीनामा दिएको थिए। अहिले मुख्यमन्त्रीज्यूलाई आरोप लाग्यो, उच्च पदस्थ कर्मचारीले आरोप लगाएका छन्,’ उनले भने, ‘हामीले निष्पक्ष छानबिन गर्न राजीनामा दिएका थियौँ; उहाँले पनि मार्ग प्रशस्त गर्नुपर्छ।’
पूर्व मन्त्री चौधरीले राज्यका निकायलाई छानबिन गर्न सहज होस् भनेर मुख्यमन्त्रीले नैतिकता देखाउनुपर्ने बताएका छन्। उनले पूर्वाग्रही ढङ्गले आफूलाई त्यतिबेला विवादमा तान्ने काम भएको बताएका छन्।उनले आरोप लाग्दैमा आफूले राजीनामा दिएको प्रसङ्ग उल्लेख गर्दै उच्च तहको कर्मचारीले मुख्यमन्त्रीमाथि आरोप लगाइसकेपछि नैतिकता देखाउनुपर्ने महसुस गरेको बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
