सुदूरपश्चिममा नेकपाको जिम्मेवारी: रावल असन्तुष्ट, रन्जिता उत्साही

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा तोकेको नयाँ जिम्मेवारीप्रति पार्टीभित्रै मिश्रित प्रतिक्रिया देखिएको छ।

एकातिर इन्चार्जको जिम्मेवारी पाएका भीम रावल असन्तुष्ट देखिएका छन् भने अर्कातिर सह-इन्चार्ज को जिम्मेवारी पाएकी रन्जिता श्रेष्ठले निर्णयलाई सकारात्मक रूपमा लिएको बताएकी छन् ।

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको मङ्गलवार बसेको बैठकले सात भौगोलिक र दुई गैर-भौगोलिक प्रदेशका इन्चार्ज तथा संयोजकहरूको टुङ्गो लगाएको थियो। सोही निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी भीम रावललाई दिइएको हो। उनी नेकपा एमालेबाट बाहिरिएर मातृभूमि जागरण अभियानमार्फत नेकपामा जोडिएका थिए ।

पछिल्लो समय नेकपासँग पनि रुष्ट रहेका उनले सोमबार पनि आफूलाई कुनै परामर्श नगरी जिम्मेवारी तोकिएको भन्दै असन्तुष्टि जनाएका छन्। साथै, अन्य प्रदेशहरूमा युवा पुस्तालाई इन्चार्ज बनाइएको अवस्थामा सुदूरपश्चिममा भने आफूजस्तो ज्येष्ठ नेतालाई जिम्मेवारी दिइनु उपयुक्त नभएको उनको भनाइ छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उक्त जिम्मेवारी स्वीकार नगर्ने सङ्केत गरेका छन्।
‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ’ मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा रावलले लेखेका छन् ।
यता, सह-इन्चार्जको जिम्मेवारी पाएकी रन्जिता श्रेष्ठले भने पार्टी नेतृत्वले सुझबुझका साथ जिम्मेवारी बाँडफाँड गरेको विश्वास व्यक्त गरेकी छन्। नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रहेकी रञ्जिता पार्टी एकता गर्दै नेकपामा आएकी थिइन् । सोमबारको जिम्मेवारीबारे नेपाल प्रेससँग कुरा गर्दै पार्टीले परिस्थिति, आवश्यकता र सङ्गठनको हितलाई ध्यानमा राखेर नै पार्टीले निर्णय लिएको बताइन् ।
‘पछिल्लो निर्णयअनुसार मलाई सुदूरपश्चिम सह-इन्चार्जको जिम्मेवारी दिइएको छ, र मैले यसलाई अत्यन्त सकारात्मक रूपमा लिएको छु। किनकि पार्टीले परिस्थिति, आवश्यकता र सङ्गठनको हितलाई ध्यानमा राखेर नै जिम्मेवारी बाँडफाँड गर्छ भन्ने मेरो विश्वास छ ’ उनले भनिन् ।
विगतमा पनि सङ्गठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै श्रेष्ठले नयाँ जिम्मेवारीलाई पनि कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन् , ‘साँचो कार्यकर्ताले पद रोज्दैन, जिम्मेवारी रोज्छ। पार्टीले जहाँ राख्छ, त्यहीँ बसेर सङ्गठनलाई बलियो बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने र जनताको विश्वास जित्ने काम गर्नु हाम्रो दायित्व हो ।’
उनले अहिलेको आवश्यकता पदको चर्चा भन्दा पनि कामको परिणाममा केन्द्रित हुनु रहेको बताइन्। सबै मिलेर पार्टीलाई अझ सुदृढ, अनुशासित र जनमुखी बनाउनु पर्नेमा उनले जोड दिएकी छन्।


