राजनीति

कलिता माझीः अरूको घरमा काम गर्नेदेखि विधायक बन्नेसम्म

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। घरेलु सहयोगीका रूपमा काम गर्दै आएकी कलिता माझी पश्चिम बंगालको औसग्राम विधानसभा क्षेत्रबाट विधायक निर्वाचित भएकी छन्।

उनको यो जित भारतीय जनता पार्टी (बिजेपी)लाई राज्यमा प्राप्त ठूलो सफलतासँगै आएको हो।

बिज्ञापन

कलिता माझीले तृणमूल कांग्रेसका श्याम प्रसन्न लोहारलाई १२ हजार ५३५ मतान्तरले पराजित गरेकी हुन्। यस निर्वाचनमा बीजेपीले कुल २०७ सिट जितेको छ भने ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले ८० सिट मात्र जित्न सकेको छ।

कोलकाताबाट करिब तीन घण्टाको दूरीमा पर्ने बर्धवान जिल्लाको घुस्कुरा माछपुर पाराको साँघुरो गल्लीमा बस्ने कलिता माझी केही दिनअघिसम्म घरेलु कामदारका रूपमा काम गर्थिन्। उनले आफ्नो सानो घर देखाउँदै त्यही घरमा श्रीमान्, दुई देवर र आमासँग बस्ने बताइन्।

दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी कलिताको राजनीतिमा प्रवेश र सफलता धेरैका लागि आश्चर्यको विषय बनेको छ, विशेषगरी राजनीति अत्यन्त खर्चिलो मानिने समयमा।

कलिता माझीका अनुसार, ‘म सन् २०१४ मा पार्टीको बुथ एजेन्ट थिएँ। त्यसपछि २०१९ मा मलाई घुस्कुरा नगरको जिम्मेवारी दिइयो। म नगर पार्टी सचिव थिएँ। त्यसपछि २०२१ मा पार्टीले मलाई विधानसभा चुनावको टिकट दियो।’

तर त्यस चुनावमा उनी अभेदानन्द थन्डरसँग ११ हजार ८१५ मतले पराजित भएकी थिइन्। हारपछि पनि उनले राजनीतिक यात्रा भने रोकिनन्।

सन् २०२२ मा उनलाई बर्धवान जिल्लाको पार्टी सचिव बनाइयो। २०२५ मा बोलपुर जिल्लाको महासचिव नियुक्त गरियो र २०२६ मा फेरि विधानसभा चुनावको टिकट दिइयो।

कलिता भन्छिन्, ‘मैले कहिल्यै विधायक बन्ने सपना देखेकी थिइनँ। म सामान्य परिवारबाट आएको मान्छे हुँ। मेरा बाबुआमा धनी थिएनन् र घर पक्ष पनि आर्थिक रूपमा बलियो थिएन।’

उनले थपिन्, ‘घर चलाउन म घरेलु सहयोगीका रूपमा काम गर्थें। म कहिल्यै यस्तो स्थानमा पुग्छु भन्ने कल्पना पनि गरेकी थिइनँ। बीजेपीजस्तो पार्टीले मात्रै हामीजस्ता सामान्य मानिसलाई अवसर दिन सक्छ।’

उनका अनुसार, २०२१ मा टिकट पाउँदा उनी रोएकी थिइन्। ‘म सोचिरहेकी थिएँ, पार्टीले मसँग यस्तो के गर्‍यो ? म यो सबै कसरी सम्हाल्छु ?’

उनले राजनीतिमा आउन ससुराको ठूलो भूमिका रहेको पनि स्मरण गरिन्। उनका ससुरको करिब दुई वर्षअघि निधन भएको थियो।

कलिता सम्झिन्छिन्, ‘जब ससुरालाई पार्टीले मलाई टिकट दिन सक्छ भन्ने थाहा भयो, उहाँले भन्नुभयो— ‘बौमा, के तिमी जीवनभर घरेलु सहयोगी भएर मात्रै बस्ने ? परिवारका लागि धेरै गरिसक्यौ, अब समाजका लागि पनि केही गर।’

ससुरले परिवारको चिन्ता नगर्न भनेपछि सासू, देवर र नन्दहरूको साथ पाएको उनले बताइन्।

सन् २००६ मा विवाह गरेपछि दुई वर्षसम्म घर र बच्चाहरूको हेरचाह गरेकी कलिताले आर्थिक अवस्था कमजोर भएपछि घरेलु काम गर्न सुरु गरेकी थिइन्।

उनी भन्छिन् ‘मेरो छोरा तीन–चार वर्षको हुँदा मैले मेड (घरेलु कामदार)को काम सुरु गरेँ। आर्थिक अवस्था कमजोर थियो। एकअर्काको सहयोगमा परिवार चलाइयो।’

सन् २००८ देखि घरेलु सहयोगीको काम थालेकी उनले विधायक निर्वाचित हुनुभन्दा केही दिनअघिसम्म पनि त्यो काम जारी राखेकी थिइन्।

उनले भनिन्, ‘विधानसभा टिकट पाएपछि पनि मैले सात दिनसम्म मेडको काम गरिरहेँ। उम्मेदवारी दर्ता गरेपछि र निर्वाचन आयोगको आचारसंहिताभित्र परेपछि मात्रै काम छोडेँ, किनकि त्यसपछि प्रचारमा समय दिनुपर्ने थियो।’

उनका अनुसार, आफूले काम गर्ने घरका मानिसहरूले पनि उनलाई चुनाव लड्न प्रोत्साहन गरेका थिए।

कलिता बिहान ५ः३० बजे उठेर घरको सबै काम सकेपछि काममा जाने र त्यसपछि पार्टीका लागि काम गर्ने गर्थिन्। साँझ घरको काम सकेपछि फेरि पार्टीको काममा जुट्ने गरेको उनले बताइन्।

उनले आफ्नो क्षेत्रमा अहिले पनि आधारभूत सुविधाको अभाव रहेको गुनासो गरिन्।

उनी भन्छिन्, ‘हाम्रो क्षेत्रमा केन्द्र सरकारका धेरै कल्याणकारी योजना पुगेका छैनन्। स्वास्थ्य केन्द्रमा फुल–टाइम डाक्टर छैनन्। बिजुली जाँदा जेनेरेटरसमेत हुँदैन। डाक्टरहरूले टर्च र मोबाइलको बत्ती बालेर उपचार गरिरहेका छन्।’

महिलाहरूको सुरक्षाबारे पनि स्थानीयमा चिन्ता रहेको उनले बताइन्।

यस विषयमा कलिता माझीले भनिन्, ‘महिलालाई सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो। जनताको आशीर्वादले म विधायक बनेकी हुँ। म जनताको आदेशअनुसार काम गर्नेछु।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।