सुदूरपश्चिम प्रदेश

दिल्लीमा चोरी भएका दुई करोडभन्दा बढी मूल्यका गरगहना कैलालीमा बरामद, तीन नेपाली पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १० जेठ । सुदूरपश्चिम प्रहरीले भारतको दिल्लीमा भएको ठूलो चोरी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गर्दै दुई करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना, नगद तथा अन्य सामग्री बरामद गरेको जनाएको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त अनुसन्धान टोलीले दिल्लीको राजेन्द्रनगरस्थित भारतीय नागरिक संजयकुमार माखीजाको घरमा भएको चोरी घटनाको अनुसन्धान गरेको थियो। उक्त घरमा फागुन १३ गते चोरी भएको बताइएको छ।

बिज्ञापन

अनुसन्धानका क्रममा माखीजाको घरमा काम गर्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–१० निवासी उपेन्द्र रावतको समूह संलग्न रहेको खुल्न आएको प्रहरीको भनाइ छ। भारतीय प्रहरीमार्फत सूचना प्राप्त भएपछि नेपाल प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।

यस घटनामा रावतसहित बाजुराको खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनार पक्राउ परेका छन्। अर्जुन सुनारमाथि चोरीका सामग्री खरिद गरेको आरोप लागेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाका अनुसार पक्राउ परेकाहरूबाट करिब दुई करोड सात लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरिएको छ। बरामद सामानमा महँगा घडी, सुनका गरगहना, हिरा तथा सुनका औँठी, चाँदीका गहना र सुनका अन्य सामग्री रहेका छन्। साथै, उनीहरूको साथबाट १२ लाख ९० हजार रुपैयाँ नेपाली नगद पनि फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विदेशी मुद्रा तथा केही नगद सम्बन्धित धनीलाई फिर्ता गरिसकिएको छ। भारतीय दूतावासको समन्वयमा पीडित पक्षका प्रतिनिधि कैलाली पुगेपछि जिल्ला प्रहरी कार्यालयमार्फत बरामद सामग्री हस्तान्तरण गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले जनप्रतिनिधिको उपस्थितिमा सम्बन्धित व्यक्तिलाई सामान बुझाइएको जानकारी दिएका छन्।

आफ्ना चोरी भएका सामानमध्ये ठूलो हिस्सा फिर्ता पाएपछि भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीको कार्यको प्रशंसा गरेका छन्। उनले अझै हराइरहेका बाँकी सामान पनि फेला पर्ने विश्वास व्यक्त गरेका छन्।

प्रहरीले चोरीका सबै सामान अझै बरामद हुन नसकेको जनाएको छ। पक्राउ परेकाहरूले केही सामग्री अन्य व्यक्तिसँग रहेको दाबी गरे पनि ती व्यक्तिहरू हालसम्म पक्राउ परेका छैनन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा भारतमा घरेलु कामदारका रूपमा जाने केही व्यक्तिबाट विश्वासको दुरुपयोग गर्दै नगद तथा गरगहना चोरी गरी नेपाल ल्याउने घटनामा वृद्धि देखिएको छ। यद्यपि स्पष्ट कानुनी प्रावधानको अभावका कारण यस्ता घटनामा थप कानुनी कारबाही प्रक्रिया चुनौतीपूर्ण हुने गरेको प्रहरीको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।