‘सुनपानी छर्किएर’ सुधन गुरुङ गृहमा फिर्ता, अब पाँचै वर्ष टिक्ने दाबी

काठमाडौं । सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदाखेरि नै उनी फेरि यो पदमा चाँडै फर्किने अनुमान थियो । उक्त अनुमान अन्ततः सत्य साबित भएको छ ।

गृहमन्त्रीबाट राजीनामा दिएको ४७ दिनपछि गुरुङ फेरि सो पदमा कमब्याक गरेका छन् । यसका लागि उनीमाथि छानबिन गरेर सफाइ दिने औपचारिकता पूरा गरिएको थियो । अब पहिलेभन्दा शक्तिशाली भएर गुरुङ गृहमा फर्किएको दाबी निकटस्थहरूको छ ।

जेनजी आन्दोलनपछि अस्वाभाविक ढंगले उदाएका गुरुङले उत्तिकै अस्वाभाविक ढंगबाट बालेन नेतृत्वको सरकारमा गृहमन्त्री हत्याउन सफल भएको थिए । रास्वपा सभापति रवि लामिछानेका प्रियपात्र डीपी अर्याललाई पन्छाएर प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई गृह मन्त्रालय सुम्पिएका थिए । सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय राजनीतिक पृष्ठभूमिसमेत नभएका अल्लारे युवकलाई दिइँदा निकै आलोचना भएको थियो ।
गृहमन्त्री नियुक्त भएको भोलिपल्टै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाएर गुरुङले आफूमाथिको आलोचना मत्थर पारिदिए । माहौल उनको पक्षमा उल्टियो । त्यसपछि भटाभट पक्राउ अभियान चलिरह्यो । गुरुङले ‘एक्सन ओरियन्टेड’ गृहमन्त्रीको उपमा पाए । तर, अन्धाधुन्द पक्राउको शृङ्खलाले अन्ततः उनी आफैँ फसे ।
व्यवसायी दीपक भट्टलाई प्रहरीले सम्पत्ति शुद्धीकरणमा समात्यो । उनलाई हिरासतमा राखेर अनुसन्धान हुँदै गर्दा एउटा कागजात सार्वजनिक भयो, जसलाई देखाएर गृहमन्त्री गुरुङ स्वयम् भट्टका व्यवसायिक साझेदार रहेको आरोप लाग्यो । गुरुङले बलियो खण्डन गर्न सकेनन् । साथै, उनको सम्पत्ति विवरणले थप विवाद र बहस सिर्जना गर्यो । गुरुङले पेश गरेको विवरणमै अकुत धन दौलत देखिएपछि यसको स्रोतमाथि प्रश्नहरू उठे ।
चौतर्फी दबाब बढेपछि गुरुङ पदबाट राजीनामा दिन बाध्य भए । गृहमन्त्री बनेको २७ दिनमै उनले सो पदबाट हात धुनुपर्यो । यद्यपि, गुरुङ निराश थिएनन् । उनलाई फेरि गृहमन्त्री बन्छु भन्ने उच्च आत्मविश्वास थियो । कारण, सरकारको उच्च नेतृत्वबाटै उनले छानबिन गरेर सफाइ दिलाएपश्चात् फेरि गृहमा ल्याउने आश्वासन प्राप्त भएको थियो ।
ढिलो चाँडो गुरुङ नै गृहमा फर्किने छन् भन्ने महत्त्वपूर्ण आधार थियो, प्रधानमन्त्री शाहले यो मन्त्रालयको नेतृत्व आफैँसँग राख्नु । गुरुङको बहिर्गमनपछि शाहले अर्को गृहमन्त्री नियुक्त नगरी यो मन्त्रालय आफ्नै मातहतमा राखेका थिए । तर, उनले एक पटक पनि गृह मन्त्रालय टेकेनन् । बरु गृहमा सुधन गुरुङको सचिवालयलाई निरन्तरता दिइराखे । सुदनको पद गुमे पनि उनका स्वकीय सचिव जेम्स कार्कीको पद गएन । उनलाई प्रधानमन्त्री शाहले ‘गृहमन्त्रीको स्वकीय सचिव’ पदमा पुन नियुक्ति दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
