माइतीघरमा आन्दोलन गरेर फर्कँदै गरेका २ जेनजी अभियन्ता बीच बाटोबाटै पक्राउ

काठमाडौँ । सुस्तामा भारतीय प्रहरी प्रवेश गरेको विरोधमा माइतीघरमा प्रदर्शन गरेर घर फर्कँदै गरेका राष्ट्रिय जेनजी नागरिक अभियानका दुई अभियन्तालाई प्रहरीले बीच बाटोबाट पक्राउ गरेको छ ।

अभियानका अभियन्ता अजय सोडारी र वीरजंग विकलाई काठमाडौँको कालोपुल क्षेत्रबाट नियन्त्रणमा लिएर हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएको अभियानले जनाइएको छ ।

नेपाली भूमि सुस्तामा भारतीय प्रहरी प्रवेश गरेको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले “भारतीय दादागिरी बन्द गर” लगायतका नारासहित विरोध जनाएका थिए ।

पक्राउको कारणबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक नगरेको भए पनि अभियानले शान्तिपूर्ण प्रदर्शनमा सहभागी अभियन्ताहरूलाई नियन्त्रणमा लिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


