सीमा विवादले कर्णाली करिडोर तेस्रो दिन पनि ठप्प, यात्रु अलपत्र

बाजुराः बाजुरा र हुम्लाको सीमा विवादका कारण कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिकाको धुलाचौर क्षेत्रमा गरिएको सडक बन्द तेस्रो दिन पनि जारी रहेको छ। बन्दका कारण हुम्ला आवतजावत गर्ने सवारीसाधन रोकिँदा सयौँ यात्रु समस्यामा परेका छन्।
बाजुराको हिमाली गाउँपालिका क्षेत्रका स्थानीयले बुधबार रातिदेखि धुलाचौरमा सडक अवरुद्ध गरेका हुन्। सीमा विवादसँग सम्बन्धित घटनाका आरोपीलाई नियन्त्रणमा लिनुपर्ने माग राख्दै स्थानीयले करिडोर बन्द गरेका छन्।

सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले खुलाउने पहल नगरेको तथा प्रहरी निष्क्रिय बनेको भन्दै यात्रुले असन्तुष्टि जनाएका छन्। बन्दका कारण अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारण बढी प्रभावित बनेका छन्।
बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्र लाम्पाटा र च्याचौरको सीमा निर्धारणको विषयलाई लिएर दुवै जिल्लाका स्थानीयबीच विवाद चुलिएको छ। गत जेठ ३ गते लाम्पाटामा दुई पक्षबीच भएको झडपमा बाजुराका चार जना घाइते भएका थिए। हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थालीका स्थानीयले बाजुराको लाम्पाटा आएर उनीहरूमाथि कुटपिट गरेका थिए।
उक्त घटनाका आरोपित विरुद्ध किटानी जाहेरी दिइएको भए पनि हुम्ला प्रहरीले दोषीलाई समात्न नसकेको भन्दै बाजुराका स्थानीयले राजमार्ग नै अवरुद्ध गरेको बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
