भात पकाउने ‘श्रीमती’सँग चार दिनमै सम्बन्धविच्छेद

इन्डोनेसिया । सामाजिक सञ्जालमा चर्चित बन्नका लागि मानिसहरूले गर्ने अनौठा गतिविधिमध्ये एक घटना इन्डोनेसियामा सार्वजनिक भएको थियो, जहाँ एक युवकले युवतीसँग होइन, राइस कुकरसँग विवाह गरेको दाबी गरेका थिए। अझ रोचक पक्ष त के भने, उक्त ‘विवाह’ चार दिनभन्दा बढी टिक्न सकेन।
इन्डोनेसियाका इरुल अनाम नामका युवकले राइस कुकरलाई बेहुलीझैँ सजाएर विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा साझा गरेका थिए। परम्परागत विवाह पोसाकमा देखिएका उनले विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरिरहेको दृश्यसमेत सार्वजनिक गरेका थिए।

अनामले रमाइलो शैलीमा राइस कुकर रोज्नुको कारण पनि बताएका थिए। उनका अनुसार राइस कुकर शान्त, आज्ञाकारी र स्वादिष्ट भात पकाउन सक्षम भएकाले आफूले त्यसलाई जीवनसाथीका रूपमा ‘चुनेका’ थिए।
तर विवाहको चर्चा सेलाउन नपाउँदै चार दिनपछि उनले अर्को पोस्टमार्फत सम्बन्धविच्छेदको घोषणा गरे। ठट्टापूर्ण शैलीमै उनले राइस कुकरले भातबाहेक अन्य परिकार बनाउन नसक्ने भएकाले सम्बन्ध अगाडि बढ्न नसकेको बताएका थिए।
सन् २०२१ मा सार्वजनिक भएको यो घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको थियो। विवाह र सम्बन्धविच्छेद दुवैका तस्वीर लाखौँ पटक हेरिएका थिए भने प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका थिए।
कतिपयले यसलाई मनोरञ्जन र हास्यको माध्यमका रूपमा लिए भने केहीले सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने प्रयासका रूपमा टिप्पणी गरेका थिए। जे भए पनि, यो घटना सामाजिक सञ्जालमा भाइरल बनेका अनौठा घटनामध्ये एकका रूपमा आज पनि सम्झिने गरिन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
