रातारात ललितपुर प्रहरी कार्यालय पुगेका गृहमन्त्रीले सोधे- यहाँको हाकिम खोइ ?

ललितपुर । गृहमन्त्री सुधन गुरुङ कुनै पूर्वसूचना नदिई बिहीबार राति ९ बजेपछि जिल्ला प्रहरी परिसर ललितपुर पुगे । त्यसबेला जावलाखेलको सडकमा रातो मच्छिन्द्रनाथको जात्रा चलिरहेको थियो भने जिल्लाका जिम्मेवार प्रहरी अधिकृतहरू जात्रा सुरक्षामा खटिएका थिए ।

अचानक कार्यालयमा गृहमन्त्री पुगेको खबर पाएपछि ड्युटी छोड्ने कि मन्त्रीको स्वागतमा पुग्ने भन्ने दोधारमा परे प्रहरी अधिकारीहरू ।

मन्त्री गुरुङ प्रहरी परिसर पुग्दा त्यहाँ सबभन्दा ठूला अधिकृत थिए, डीएसपी अर्जुन केसी । न अगुवा–पछुवा गाडी न त गृहमन्त्री आएकै कुनै संकेत । यस्तो हुँदा कार्यालय ड्युटीमा रहेका प्रहरी पनि एक छिन अन्योलमा परे । तर, अनुहार हेरेर चिनेपछि डीएसपी केसीले गृहमन्त्रीलाई स्वागत गरे ।
उनी निजी नम्बर प्लेटको गाडी आफैँ चलाएर त्यहाँ पुगेका थिए । साथमा केही साथी पनि थिए ।
सुधनले डीएसपी कार्कीलाई सोधे, ‘यो अफिसको हाकिम खोइ ?’ त्यसबेला त्यहाँका एसएसपी तुलबहादुर कार्की र एसपी गौतम मिश्र मच्छिन्द्रनाथको जात्रा ड्युटीका लागि फिल्डमै थिए ।
‘सरहरू ड्युटी गइस्येको छ’, डीएसपी केसीले जवाफ दिए ।
यसबीचमा कार्यालयमा गृहमन्त्री आएको खबर एसएसपी कार्की र एसपी मिश्रले पाइसकेका थिए । हस्याङफस्याङ गर्दै उनीहरू कार्यालय पुगे । तर, गृहमन्त्री गुरुङ गाडी त्यहीँ छोडेर बाहिर निस्किए ।
एसपी तथा जिल्लाका प्रहरी प्रवक्ता गौतम मिश्रले गृहमन्त्री गुरुङ मच्छिन्द्रनाथको दर्शन गर्न आएको नेपाल प्रेसलाई बताए ।
‘जात्रा लागेको ठाउँमा भिड थियो, गाडी राख्न मिलेन’, उनले भने, ‘अफिसमा गाडी राखेर रातो मच्छिन्द्रनाथको दर्शन गर्न जानुभयो, पछि आफैँले गाडी लिएर जानुभयो ।’
गृहमन्त्री गुरुङ रातो मच्छिन्द्रनाथको दर्शन गर्न पुगेको खबर उक्त जात्रा समन्वय गर्ने ललितपुर महानगरपालिकालाई छैन । त्यहाँमा मेयर चिरिबाबु महर्जनको सचिवालयका एक सदस्यका अनुसार शनिवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ ।
उक्त कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह सहित संघीय सरकारका सबै मन्त्रीलाई औपचारिक निमन्त्रणा गरिएको उनले बताए । त्यसअनुसार गृहमन्त्री गुरुङलाई पनि शनिबारका लागि निमन्त्रणा गरिएको छ ।
‘शनिवार औपचारिकरुपमै बोलाइएको थियो, बिहीबार किन आउनुभएको होला ? फेरि गृहमन्त्री जस्तो मान्छे आएर महानगरपालिकाको मेयरसँग पनि नभेटी जानुभयो,’ मेयरको सचिवालयका ती सदस्यले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
