पञ्जाबबाट चोरिएको सुन–हिरा कञ्चनपुरमा बरामद, आरोपी फरार

धनगढी, ३ साउन । भारतको पञ्जाबबाट चोरी गरी नेपाल ल्याइएका सुन, चाँदी र हिराका बहुमूल्य गरगहना कञ्चनपुर प्रहरीले बरामद गरेको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान भइसके पनि उनीहरू अझै फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले दोधाराचाँदनी नगरपालिका–स्थित एक स्थानीयको घर नजिक लुकाएर राखिएको अवस्थामा विभिन्न ३७ प्रकारका गरगहना फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भारतको पञ्जाबस्थित एक घरबाट चोरी गरिएका सुन, चाँदी र हिराका गरगहना गोप्य सूचनाका आधारमा बरामद गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पञ्जाबको उक्त घरमा दोधाराचाँदनीकी एक नेपाली महिला घरेलु कामदारका रूपमा कार्यरत थिइन्। सोही महिलाका दुई आफन्तले घरबाट बहुमूल्य गरगहना चोरी गरी नेपाल ल्याएको खुलेको छ।
प्रहरीका अनुसार चोरीमा संलग्नमध्ये एक जना बाजुरा जिल्लाका निवासी रहेको खुलेको छ। उनीहरूले चोरी गरेका सबै गरगहना भने अझै बरामद हुन सकेका छैनन्। बाँकी गरगहना र फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका गरगहनाको मूल्य भने प्रहरीले सार्वजनिक गरेको छैन। आवश्यक कानुनी प्रक्रिया पूरा गरी ती गरगहना सम्बन्धित भारतीय नागरिकलाई फिर्ता गर्ने तयारी भइरहेको डीएसपी रावतले जानकारी दिए।
नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने अन्तरदेशीय अपराध नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ। पछिल्लो घटनाले चोरीका सामान नेपालसम्म ल्याएर लुकाउने गिरोह सक्रिय रहेको संकेत गरेको भन्दै प्रहरीले यस्ता अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
