टीकापुर

मुक्त कमैयाको पीडा अझै कायमै, टीकापुरबाट पुनःस्थापनाका लागि संयुक्त आवाज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३ साउन । २६औँ कमैया मुक्ति दिवस कैलालीको टीकापुर–१ मा विविध कार्यक्रमका साथ मनाइएको छ। कार्यक्रममा संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सम्बन्धित सरकारी तथा गैरसरकारी संस्था, थारु समुदायका कलाकार, मुक्त कमैया बस्तीका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कमैया प्रथा अन्त्य भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि धेरै मुक्त कमैया परिवार अझै पूर्ण रूपमा पुनःस्थापित हुन नसकेको भन्दै राज्यको ध्यानाकर्षण गराएका छन्। उनीहरूले मुक्त कमैयाको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका विषयमा अझै प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।

बिज्ञापन

छलफलका क्रममा सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया पुनःस्थापना कार्यविधि पारित गरेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारबाट आवश्यक नीति, कानुन तथा कार्यक्रम आउनुपर्ने आवश्यकता औँल्याइएको थियो। संघीय तहको स्पष्ट नीतिगत व्यवस्था नहुँदा पुनःस्थापनाका धेरै कार्यक्रम प्रभावित भएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा टीकापुर नगरपालिकाको वर्तमान नेतृत्व अवस्था पनि मुख्य बहसको विषय बनेको थियो। नगरप्रमुख र उपप्रमुख दुवै पद रिक्त रहेको तथा कार्यवाहक नगरप्रमुखसम्बन्धी विवादका कारण नगरपालिकाबाट हुनुपर्ने निर्णय र विकास निर्माणका कामसँगै मुक्त कमैयाको पुनःस्थापनासम्बन्धी कार्यक्रमसमेत प्रभावित भएको वक्ताहरूले बताएका छन्।

सहभागीहरूले मुक्त कमैया परिवारको दीगो पुनःस्थापना, भूमि व्यवस्थापन, आयआर्जनका अवसर, सीप विकास तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले नीति निर्माणमा ढिलाइ नगरी व्यवहारिक रूपमा कार्यान्वयनमा जान सरकारसँग आग्रह गरेका छन्।

वक्ताहरूले कमैया आन्दोलनको ऐतिहासिक योगदानको स्मरण गर्दै मुक्त कमैयाको सम्मानजनक जीवनयापन सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका थिए। सहभागीहरूले कमैया मुक्ति दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी मुक्त कमैयाका बाँकी समस्या समाधान गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। साथै, पुनःस्थापनाका बाँकी कार्यलाई शीघ्र अघि बढाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने मागसमेत गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।