सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको खस–मानसखण्ड सांस्कृतिक जागरणसम्बन्धी वृहत् अन्तरक्रिया सम्पन्न, सांस्कृतिक अधिकारका पक्षमा साझा घोषणापत्र तयार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ३ साउन । सुदूरपश्चिमको पवित्र मानसखण्ड र कर्णालीको ऐतिहासिक सिञ्जा उपत्यकाको सांस्कृतिक, भाषिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘खस–मानसखण्ड सांस्कृतिक जागरण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा सुदूरपश्चिम र कर्णाली क्षेत्रका कलाकार, भाषाविद्, लेखक, संस्कृतिविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा यी दुई प्रदेशको सांस्कृतिक पहिचान, भाषिक विविधता, मौलिक कला तथा सम्पदाको संरक्षणका विषयमा विस्तृत छलफल भएको थियो।

बिज्ञापन

छलफलका क्रममा सहभागीहरूले सुदूरपश्चिम र कर्णाली आर्थिक रूपमा पछि परे पनि सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त समृद्ध रहेको धारणा राखेका थिए। उनीहरूले प्रादेशिक प्रज्ञा–प्रतिष्ठानलाई पर्याप्त स्रोत–साधनसहित स्वायत्त बनाउँदै रैथाने भाषाको दस्तावेजीकरण, देउडा, भुवा र हुड्केलीजस्ता अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, साथै ज्येष्ठ स्रष्टाहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रमबाट सांस्कृतिक अधिकार सुनिश्चित गर्न र सम्बन्धित विषयमा कानुनी तथा नीतिगत पहलका लागि साझा घोषणापत्र तयार गरिएको आयोजकले जनाएको छ। उक्त घोषणापत्र दुवै प्रदेश सरकार तथा संघीय सरकारसमक्ष पेश गरी आवश्यक पहलका लागि दबाब सिर्जना गरिने बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि माननीय केपी खनालले सुदूरपश्चिम र कर्णालीको भाषा, कला, संस्कृति र पहिचानको संरक्षणका विषयलाई संसद् तथा सरकारसम्म पुर्‍याउन आफूले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

आयोजकले कार्यक्रममा उपस्थित भई अनुभव, विचार तथा सुझाव प्रदान गर्ने अग्रज स्रष्टा, कलाकार, संस्कृतिकर्मी, पत्रकार तथा कार्यक्रमको संयोजन र व्यवस्थापनमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ। साथै, सांस्कृतिक अधिकार र पहिचानको विषयमा सुरु भएको बहसलाई निष्कर्षमा नपुग्दासम्म निरन्तर अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।