घटना

दैलेखमा हृदयविदारक घटना: एकै घटनामा आमा र ९ वर्षीय छोराको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख, ६ साउन । दैलेखमा सर्पदंशको आशंकामा एक आमा र उनका ९ वर्षीय छोराको मृत्यु भएको छ। राति सामान्य अवस्थामै सुतेका दुवै जना बिहान उठेपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको भए पनि उनीहरूको ज्यान जोगाउन सकिएन।

मृत्यु हुनेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ खाडाकी २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुष रावल रहेका छन्।

बिज्ञापन

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउन ३ गते राति आमा–छोरा सकुशल सुतेका थिए। तर भोलिपल्ट बिहान उठ्नेबित्तिकै दुवैलाई शरीर झमझमाउने, रिंगटा लाग्ने तथा असहज महसुस हुने समस्या देखिएको थियो। परिवारले उनीहरूलाई तत्काल नजिकैको मेडिकलमा पुर्‍याएको थियो।

प्राथमिक परीक्षणका क्रममा चिकित्सकले सर्पले डसेको हुन सक्ने आशंका गरेका थिए। त्यसपछि थप उपचारका लागि अस्पताल लैजाने क्रममा बालक आयुषको बाटोमै बिहान करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा रहेकी कमलालाई तत्काल कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगेर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। तर उपचारकै क्रममा बुधबार बिहान ६ः२५ बजे उनको पनि मृत्यु भएको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।

प्रहरीका अनुसार बालक आयुषको दाहसंस्कार सम्पन्न भइसकेको छ। घटनाको वास्तविक कारण पुष्टि गर्न आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सर्पदंश नै मृत्युको कारण हो वा अन्य कुनै कारण रहेको छ भन्ने विषयमा पनि थप अनुसन्धान भइरहेको छ।

एकै घटनामा आमा र छोराको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ भने गाउँभरि नै शोकको वातावरण बनेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।