पलङभित्र शव, माथि निदाए पाहुना ! काठमाडौंको कहालीलाग्दो हत्या

काठमाडौ, ६ साउन । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसको कोठा नम्बर ४०४ मा २५ वर्षीया युवतीको शव पलङभित्र लुकाइएको अवस्थामा फेला परेको घटनाले राजधानी स्तब्ध बनेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट रमेशले आफ्नै कम्मरको बेल्टले युवतीको घाँटी कसी हत्या गरेको र शव पलङभित्र लुकाएर फरार भएको खुलेको छ।

प्रहरीका अनुसार मृतक कैलाली घर भई काठमाडौंको माछापोखरीमा बस्दै आएकी २५ वर्षीया निशा सुनुवार हुन्।
चोरीबाट सुरु भयो घटनाक्रम
अनुसन्धान अनुसार रमेश बुढा असार ३१ गते पोखराबाट कमाएको करिब १ लाख रुपैयाँ लिएर घर फर्किने क्रममा नयाँ बसपार्क पुगेका थिए। सोही क्रममा उनको भेट निशा सुनुवारसँग भएको थियो।
दुवैजना एक गेस्टहाउसमा पुगेपछि रमेश नुहाउन बाथरुममा प्रवेश गरेका थिए। त्यसैबेला निशाले बाहिरबाट ढोका लगाएर रमेशको झोलामा रहेको नगद १ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ।
मास्क लगाएर खोजी, त्यसपछि हत्या
पैसा चोरी भएपछि रमेशले आफ्ना साथी दानबहादुर शाहीलाई सम्पर्क गरी बसपार्क क्षेत्रमै रहेको अर्को गेस्टहाउसको कोठा नम्बर ४०४ मा बसेका थिए।
भोलिपल्ट रमेशले मास्क लगाएर बसपार्क क्षेत्रमा निशाको खोजी गरे। प्रहरीले जनाएको अनुसार मास्कका कारण निशाले रमेशलाई चिनिनन्। रमेशले होटल जाने प्रस्ताव गरेपछि उनीहरू पुनः कोठा नम्बर ४०४ पुगे।
कोठाभित्र पुगेपछि रमेशले मास्क हटाउँदै चोरी भएको रकमबारे सोधपुछ गरेका थिए। त्यसपछि दुवैबीच विवाद भएको र सोही क्रममा रमेशले बेल्टले घाँटी कसेर निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनापछि शव पलङभित्र लुकाइएको र कोठा सफा गरेर आरोपी त्यहाँबाट बाहिरिएको जनाएको छ।
शव लुकाइएको पलङमै रात बिताए
अनुसन्धान अनुसार हत्या भएको रात रमेश र उनका साथी दानबहादुर शाहीले शव लुकाइएको सोही पलङमा रात बिताएका थिए। प्रहरीका अनुसार हालसम्मको अनुसन्धानले दानबहादुरलाई हत्याबारे जानकारी नभएको देखाएको छ।
साउन १ गते दुवैजना गेस्टहाउसबाट निस्किएपछि सोही कोठा अर्को ग्राहकलाई भाडामा दिइएको थियो। ती ग्राहकले पनि शव पलङभित्र रहेको थाहा नपाई रात बिताएका थिए।
दुर्गन्ध आएपछि खुल्यो घटना
साउन ३ गते कोठाबाट दुर्गन्ध आउन थालेपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले पलङ खोलेर हेर्दा सड्न थालेको अवस्थामा निशा सुनुवारको शव फेला पारेको थियो।
आरोपी पक्राउ
घटनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले महाराजगञ्जस्थित साम्बाला होटल नजिकबाट मुख्य आरोपी रमेश बुढालाई पक्राउ गरेको जनाएको छ। यस्तै, उनका साथी दानबहादुर शाहीलाई नेपालगञ्जबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
एसएसपी दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानमा हत्यामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको छ भने घटनाका अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
