३२३ दिनको पैदल यात्रा: चार देश पार गर्दै नेपाली युवा रविन सुनार मलेसिया पुगे

काठमाडौ, ६ साउन । धादिङका ३१ वर्षीय युवा रविन सुनारले विश्व पैदल यात्राको क्रममा चार देश पार गर्दै मलेसिया प्रवेश गरेका छन्। घरबाट यात्रा सुरु गरेको ३२३औँ दिनमा उनी थाइल्याण्डको सीमा पार गर्दै पादाङ बेसार (Padang Besar) नाका हुँदै मलेसियामा प्रवेश गरेका हुन्।
हाल उनी मलेसियाको जित्रा (Jitra) सहरतर्फ पैदल यात्रालाई निरन्तरता दिइरहेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, मूलपानी निवासी सुनारले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा दर्शन गरेपछि भारतको केदारनाथ धामबाट आफ्नो विश्व पैदल यात्राको औपचारिक सुरुवात गरेका थिए।
यात्राका क्रममा उनले भारत, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड हुँदै मलेसियासम्मको दूरी पैदल तय गरेका छन्।
सुनारका अनुसार यात्राका क्रममा विशेषगरी म्यानमार र थाइल्याण्डमा रहेका नेपाली समुदायले आफूलाई आवास, खानपिन र हौसलाका माध्यमबाट उल्लेखनीय सहयोग गरेका छन्। प्रवासमा रहेका नेपालीहरूले दिएको साथले कठिन यात्रामा थप ऊर्जा मिलेको उनको भनाइ छ।
मलेसिया प्रवेशसँगै त्यहाँ बसोबास तथा रोजगारीका लागि रहेका नेपाली समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको उनले बताएका छन्।
भौगोलिक चुनौती, बदलिँदो मौसम र विभिन्न देशका कानुनी प्रक्रिया पार गर्दै निरन्तर पैदल यात्रा गरिरहेका सुनारले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने उद्देश्यका साथ आफ्नो अभियान जारी राखेको बताएका छन्।
उनले मलेसियासहित विश्वभर रहेका नेपालीलाई आफ्नो यात्रामा नैतिक तथा अन्य आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
