राष्ट्रिय समाचार

वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै, घरमै बसेर मुद्दाको प्रगति पनि हेर्न मिल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, ६ साउन । वैदेशिक रोजगारीका नाममा ठगीमा परेका श्रमिकले अब घरमै बसेर अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्ने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयले यसका लागि ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो।

लोक कल्याणकारी विज्ञापन

साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको उक्त प्रणालीमार्फत सेवाग्राहीले मोबाइल वा कम्प्युटर प्रयोग गरी आवश्यक कागजात र प्रमाण संलग्न गरेर उजुरी दर्ता गर्न सक्नेछन्। विभागले प्राप्त उजुरी अध्ययन गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

उजुरी दर्ता भएपछि सम्बन्धित व्यक्तिको मोबाइल नम्बर र इमेलमा सूचना पठाइनेछ। साथै, प्राप्त हुने ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर जुनसुकै समय आफ्नो उजुरीको अवस्था तथा कारबाहीको प्रगति अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ।

बिज्ञापन

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभाग पुगेर नयाँ प्रणालीबारे जानकारी लिएका थिए। उनले यसले वैदेशिक रोजगार ठगीका पीडितलाई सहज रूपमा न्यायको पहुँच दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ठगीमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने बताएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार प्रणाली सञ्चालनमा आएको चार दिनमै १४ वटा उजुरी दर्ता भइसकेका छन्। अधिकांश सेवाग्राहीलाई अनलाइन प्रणालीबारे पर्याप्त जानकारी नभएकाले विभागमा प्रत्यक्ष आएका सेवाग्राहीको विवरणसमेत कर्मचारीहरूले सोही प्रणालीमार्फत दर्ता गरिदिइरहेका छन्।

सेवाग्राहीहरूले भने नयाँ व्यवस्थाले उजुरी दर्ताका लागि काठमाडौं धाउनुपर्ने, होटलमा बस्नुपर्ने र अतिरिक्त खर्च व्यहोर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका छन्। साथै, घरबाटै मुद्दाको प्रगति हेर्न सकिने भएकाले प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन