विषालु च्याउ खाँदा आमाको निधन, बुवाविहीन दुई नाबालक छोराको भविष्य अन्योलमा

दाङ, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्ले निवासी पुन परिवारमा अर्को दुःखद घटना घटेको छ। केही वर्षअघि श्रीमान् कमल पुनलाई गुमाएकी दीपा पुनको विषालु च्याउ सेवनका कारण निधन भएपछि उनका दुई नाबालक छोरा अभिभावकविहीन बनेका छन्।
परिवारका अनुसार श्रीमान्को निधनपछि दीपा पुनले ज्याला–मजदुरी गरेर दुई छोराको पालनपोषण र शिक्षादीक्षा चलाउँदै आएकी थिइन्। तर जङ्गलबाट ल्याइएको विषालु च्याउ सेवन गरेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। उपचारका प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको जनाइएको छ।

आमाको निधनसँगै दुई बालकको पालनपोषण, शिक्षा र भविष्यको चिन्ता थपिएको छ। आर्थिक अवस्था कमजोर रहेको परिवारमा अहिले उनीहरूको हेरचाह गर्ने स्थायी अभिभावकसमेत नभएको स्थानीयले बताएका छन्।
स्थानीयवासी तथा शुभेच्छुकहरूले बालकहरूको जीवनयापन, शिक्षा र संरक्षणका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्। उनीहरूले देश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई सक्दो आर्थिक तथा नैतिक सहयोग गर्न आग्रह गरेका छन्।
स्थानीयका अनुसार सानो सहयोगले पनि अभिभावक गुमाएका ती दुई बालकको शिक्षा र भविष्य सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्न सक्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
