बालश्रम प्रयोग गर्ने बुटवलका दुई रेस्टुरेन्टलाई ६ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्न निर्देशन

बुटवल । रुपन्देहीको बुटवलस्थित दुई वटा रेस्टुरेन्टमा बालश्रम प्रयोग भएको पुष्टि भएपछि सम्बन्धित व्यवसायलाई जरिबानासहित क्षतिपूर्ति तिर्न लगाइएको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा बुटवल उपमहानगरपालिका–६ मा सञ्चालित राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा तीन जना बाल श्रमिक कार्यरत रहेको फेला परेको हो।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका तथा सिविन नेपाल बाल हेल्पलाइनको संयुक्त टोली सहभागी थियो। टोलीले राजु रेस्टुरेन्टबाट एक जना र सुशान्त रेस्टुरेन्टबाट दुई जना बाल श्रमिकको उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालीन बासगृहमा राखिएको विभागले जनाएको छ।
बालश्रम प्रयोग गरेको कसुरमा दुवै रेस्टुरेन्टलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ। साथै, श्रम ऐनबमोजिम उनीहरूले काम गरेको अवधिको बाँकी पारिश्रमिक र क्षतिपूर्ति गरी करिब ६ लाख रुपैयाँ भुक्तानी गराइएको विभागले जनाएको छ।


