टीकापुरमा चितुवाको आतंक, एकै दिन बाख्रा र सुँगुरको पाठा मारेपछि स्थानीय त्रसित

टीकापुर, १९ साउन । कैलालीको टीकापुर नगरपालिका–१ मा चितुवाको आक्रमणबाट एकै दिन दुई घरपालुवा जनावर मारिएका छन्। घटनापछि स्थानीयवासी त्रसित बनेका छन्।
स्थानीयका अनुसार आज साउन १९ गते टीकापुर नगरपालिका–१ स्थित शक्तिनगरको त्रिवेणी टोल विकास संस्थामा चितुवाले एउटा बाख्रा मारेको छ। त्यस्तै, सोही दिन कोपिला टोल विकास संस्थामा पनि चितुवाले एउटा सुँगुरको पाठालाई आक्रमण गरी मारेर खाएको जनाइएको छ।
बस्ती नजिकै चितुवा प्रवेश गरी लगातार घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। विशेषगरी बिहान र साँझको समयमा बालबालिका तथा घरपालुवा पशुचौपायाको सुरक्षाप्रति स्थानीयहरू चिन्तित बनेका छन्।
स्थानीयले वन क्षेत्रबाट चितुवा बारम्बार बस्तीमा प्रवेश गर्न थालेको भन्दै सम्बन्धित निकायसँग तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन र चितुवालाई नियन्त्रण तथा उद्धार गर्न माग गरेका छन्। उनीहरूले पशुधनमा हुने क्षति रोक्न प्रभावकारी उपाय अपनाउन पनि आग्रह गरेका छन्।
यस घटनापछि डिभिजन वन कार्यालय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूले घटनाको अनुगमन गरी स्थानीयको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने मागसमेत उठेको छ। वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै जाँदा यस्ता घटनालाई न्यूनीकरण गर्न दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको स्थानीयको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
