टीकापुरमा छाडा पशु नियन्त्रण अभियान तीव्र, एक सयभन्दा बढी गाईगोरु गौशालामा स्थानान्तरण

टीकापुर, १९ साउन । टीकापुर बजार क्षेत्रमा सडकमा छाडा छोडिएका गाईगोरुका कारण बढ्दो दुर्घटनाको जोखिम न्यूनीकरण गर्न टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।
नगरपालिकाको नेतृत्वमा नगर प्रहरी, इलाका प्रहरी कार्यालय टीकापुर तथा स्थानीय गौशालाको संयुक्त समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत बजार क्षेत्रबाट एक सयभन्दा बढी छाडा गाईगोरु नियन्त्रणमा लिई गौशालामा स्थानान्तरण गरिएको हो।
नगरपालिकाका अनुसार बजारका मुख्य सडक तथा चोकहरूमा छाडा पशु जथाभावी बस्दा सवारी आवागमन प्रभावित हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढ्दै गएको थियो। विशेषगरी व्यस्त समयमा सडकमा पशुहरूको चापका कारण चालक र पैदलयात्री दुवैलाई सास्ती हुने गरेको गुनासो बढेपछि अभियान सञ्चालन गरिएको हो।
अभियानमार्फत सडकमा रहेका छाडा पशुहरूलाई सुरक्षित रूपमा संकलन गरी गौशालामा राखिएको नगरपालिकाले जनाएको छ। यसबाट बजार क्षेत्रको ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटनाको सम्भावना घट्ने र पशुहरूको समेत उचित संरक्षण हुने विश्वास गरिएको छ।
टीकापुर नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दुर्घटनामुक्त बनाउने उद्देश्यले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। साथै, पशुपालकहरूलाई आफ्ना गाईगोरु जथाभावी सडकमा नछोड्न आग्रह गर्दै अटेर गरे कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ।
स्थानीयवासीले नगरपालिकाको अभियानको स्वागत गर्दै छाडा पशु व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन नियमित अनुगमन र पशुपालकको जिम्मेवारीसमेत सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
