टीकापुर

मर्मतपछि टीकापुर–राजापुर झुलुङ्गे पुल पुनः सञ्चालनमा, सर्वसाधारणलाई भीड नगर्न आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ साउन । कैलालीको टीकापुरलाई बर्दियाको राजापुरसँग जोड्ने कर्णाली नदीमाथिको झुलुङ्गे पुल आवश्यक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। पिल्लरमा चिरा (क्र्याक) देखिएपछि सुरक्षाका कारण एक सातादेखि बन्द गरिएको पुल सोमबारदेखि पुनः सर्वसाधारणका लागि खुला गरिएको हो।

पुल बन्द गरिएपछि दुवै जिल्लाबीच दैनिक आवतजावत गर्ने स्थानीय, विद्यार्थी, कर्मचारी तथा व्यवसायी प्रभावित भएका थिए। मर्मत सम्पन्न भएसँगै पुल पुनः सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

पुल निर्माणको जिम्मा पाएको थानी निर्माण सेवाले अत्यधिक भीडभाड तथा पिल्लरको आधार क्षेत्रमा रहेको माटोको अवस्थाका कारण संरचनामा समस्या देखिएको हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार प्रभावित भागको प्राविधिक रूपमा मर्मत सम्पन्न गरिएको छ र हाल पुल पूर्ण रूपमा सुरक्षित अवस्थामा रहेको छ।

निर्माण कम्पनीले पुलको नियमित प्राविधिक अनुगमन गरिने जनाएको छ। भविष्यमा यस्तै समस्या दोहोरिए तत्काल प्राविधिक टोली परिचालन गरी दीर्घकालीन समाधान गरिने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

पछिल्लो समय उक्त झुलुङ्गे पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलको अवलोकन, फोटो तथा भिडियो खिच्न दैनिक ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्। यही कारण पुलमा एकै पटक धेरै मानिस जम्मा हुँदा संरचनामाथि अतिरिक्त भार पर्ने भएकाले अनावश्यक भीड नगर्न निर्माण कम्पनीले आग्रह गरेको छ।

स्थानीय प्रशासन र निर्माण कम्पनीले पुल प्रयोग गर्दा सुरक्षाका मापदण्ड पालना गर्न, एकै स्थानमा ठूलो भीड नगर्न तथा पुलमा अनावश्यक रूपमा लामो समय नबस्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

टीकापुर–दौलतपुर हुँदै राजापुर जोड्ने यो झुलुङ्गे पुलले कैलाली र बर्दियाबीचको आवागमनलाई सहज बनाउनुका साथै स्थानीय व्यापार, पर्यटन र दैनिक जनजीवनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। पुल पुनः सञ्चालनमा आएसँगै दुवै जिल्लाका बासिन्दाको आवतजावत सहज हुने विश्वास गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।