संसद बैठकमा अब कालो चस्मा लगाउन नपाइने, लोगो अनिवार्य

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल ले संसद् बैठकको मर्यादा र अनुशासन कायम गर्न कालो चस्मा तथा परिचय खुल्ने लोगो (आइडी) सम्बन्धी व्यवस्था कडाइका साथ लागू गरिने बताएका छन्।
सभामुख अर्यालले अबदेखि प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाएर प्रवेश गर्न नदिने स्पष्ट निर्देशन दिएका छन्। उनले संसद्को गरिमा र अनुशासन कायम राख्न यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै नियमको पालना सबै सांसदले अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्।
यस्तै, सांसदहरूले संसद् भवनभित्र प्रवेश गर्दा परिचय खुल्ने लोगो (आइडी कार्ड) अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था पनि लागू गरिने भएको छ। लोगो नलगाई बैठकमा आउने सांसदलाई प्रवेश नदिइने सभामुखको भनाइ छ।
सभामुखले बैठक सञ्चालन भइरहेका बेला सांसदहरूको अनावश्यक आवतजावत रोक्न पनि दलका प्रमुख सचेतक र सचेतकहरूलाई निर्देशन दिएका छन्। बैठकको क्रममा बारम्बार बाहिरिने र भित्रिने प्रवृत्तिले संसद्को कार्यसम्पादन तथा मर्यादामा असर पर्ने भएकाले यसमा कडाइ गरिने उनले बताए।
सभामुखको निर्देशनसँगै संसद् बैठकलाई थप व्यवस्थित, अनुशासित र मर्यादित बनाउने उद्देश्य रहेको जनाइएको छ। अब यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि संसद् सचिवालयले समेत आवश्यक समन्वय गर्ने अपेक्षा गरिएको छ।
सभामुखको यो भनाइ प्रधानमन्त्री बालेन्द्र शाहका हकमा पनि लागू हुनेछ। बालेनले अक्सर कालो चस्मा लगाउने गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
