छोरी बचाउन चितुवासँग पाँच मिनेट भिडिन् २६ वर्षीया महिला, बहराइचमा फेरि फैलियो त्रास

कतर्नियाघाट । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा चितुवाको आतंक फेरि बढेको छ। कतर्नियाघाट वन्यजन्तु डिभिजनअन्तर्गत सुजौली रेञ्जको धनिया बेली गाउँमा घरभित्रै पसेको चितुवाले एक महिलामाथि आक्रमण गरेको छ।
वन डिभिजनका प्रमुख (डीएफओ) अपूर्व दीक्षितका अनुसार बिहीबार र शुक्रबारको मध्यरातमा चितुवा घरभित्र पसेर २६ वर्षीया लाली देवीमाथि आक्रमण गरेको हो।
जयप्रकाशकी पत्नी लाली देवी आफ्नी सानी छोरीसँग घरमा सुतिरहेकी थिइन्। त्यही क्रममा अचानक घरभित्र पसेको चितुवाले उनलाई आक्रमण गरेको थियो।
आफूमाथि आक्रमण भएपछि लाली देवीले छोरी र आफ्नो ज्यान जोगाउन चितुवासँग करिब पाँच मिनेटसम्म प्रतिकार गरिन्। उनको चिच्याहट सुनेपछि परिवारका अन्य सदस्यहरू पनि ब्युँझिए। उनीहरूले ठूलो स्वरले कराउँदै चितुवालाई भगाउने प्रयास गरेपछि अन्ततः चितुवा घरबाट निस्किएर जंगलतर्फ भागेको थियो।
चितुवाको आक्रमणबाट घाइते लाली देवीलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाको जानकारी पाएलगत्तै वन विभागको टोली पनि घटनास्थल पुगेको थियो।
वन अधिकृत अनिल पटेलले घाइते महिलाको परिवारलाई तत्काल तीन हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएका छन्।
डीएफओ दीक्षितका अनुसार चितुवाको खोजीका लागि वन क्षेत्रमा कम्बिङ अभियान तीव्र पारिएको छ। वन विभागले स्थानीय बासिन्दालाई विशेषगरी साँझ र रातको समयमा सतर्क रहन तथा सकेसम्म एक्लै बाहिर ननिस्कन आग्रह गरेको छ।
यसअघि पनि आमाले चितुवासँग जुधेर बचाएकी थिइन् छोराको ज्यान
कतर्नियाघाट वन्यजन्तु डिभिजन क्षेत्रमा चितुवाको आक्रमणको यो पहिलो घटना भने होइन।
यसअघि गत मे २०–२१ मा तेलियनपुरवा गाउँमा पनि यस्तै घटना भएको थियो। मीना देवी आफ्ना ६ वर्षीय छोरा मोहितसँग सडक किनारमा बसेकी थिइन्। त्यही बेला नजिकैको उखुबारीबाट अचानक निस्किएको चितुवाले बालकमाथि आक्रमण गरेको थियो।
चितुवाले छोरालाई आक्रमण गरेपछि मीना देवीले आफ्नो ज्यानको पर्वाह नगरी चितुवासँग प्रत्यक्ष भिड्दै छोरालाई बचाएकी थिइन्। चितुवासँगको संघर्षमा मीना देवी गम्भीर घाइते भएकी थिइन् भने उनका छोरालाई सामान्य चोट लागेको थियो।
स्थानीयवासी लाठी बोकेर घटनास्थलमा पुगेपछि चितुवाले बालकलाई छोडेर उखुबारीतर्फ भागेको थियो। सोही घटनामा उमेश नाम गरेका २६ वर्षीय स्थानीयवासीसमेत घाइते भएका थिए।
स्थानीयका अनुसार चितुवासँग केही मिनेटसम्म आमाछोराको संघर्ष चलेको थियो। छोराको ज्यान जोगाउन आमाले देखाएको साहसले त्यतिबेला स्थानीयलाई समेत स्तब्ध बनाएको थियो।
लगातार चितुवा बस्तीमा प्रवेश गर्न थालेपछि कतर्नियाघाट आसपासका गाउँमा त्रास बढेको छ। वन विभागले चितुवा नियन्त्रण तथा खोजी अभियानलाई तीव्र बनाएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
