तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला

कपिलवस्तु, २४ साउन । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्।
६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नै घरबाट निस्किएका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनको खोजीका क्रममा आइतबार गोरुसिंगे जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार सिंहले प्रयोग गर्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले जंगल क्षेत्रमा खोजीलाई तीव्र बनाएको थियो।
सिंहको अवस्था पत्ता लगाउन गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। खोजीका क्रममा आइतबार उनको शव फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए।
सिंहको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
