सुदूरपश्चिम प्रदेश

प्रेमिका घर ल्याएपछि कञ्चनपुरमा पारिवारिक विवाद, सोधपुछका लागि प्रहरीमा पुगे प्रेमी–प्रेमिका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महेन्द्रनगर, २५ साउन । कञ्चनपुरमा प्रेमिकालाई विवाह गर्ने उद्देश्यसहित घर ल्याएका एक युवकको परिवारमा विवाद चुलिएपछि प्रहरीले प्रेमी–प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

महेन्द्रनगरस्थित बसपार्क नजिकै घर भएका ती युवकले परिवारलाई जानकारी नदिई प्रेम सम्बन्धमा रहेकी युवतीलाई आइतबार घरमा ल्याएका थिए। युवतीलाई विवाह गर्ने योजनासहित घर ल्याइएको बताएपछि युवककी आमाले असहमति जनाएकी थिइन्।

असहमतिकै विषयलाई लिएर आमा–छोराबीच विवाद बढ्दै गएपछि अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ। छोराले आफूमाथि कुटपिट गर्न सक्ने अवस्था आएपछि युवककी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

घरभित्रको विवाद बाहिरिएसँगै युवकको घरअगाडि स्थानीयको भीडसमेत जम्मा भएको थियो। भीड बढेपछि प्रहरीले प्रेमी–प्रेमिकालाई जिल्ला प्रहरी कार्यालयमा लगेर घटनाबारे सोधपुछ गरेको हो।

प्रहरीका अनुसार दुवै जनाले आफूहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन्। परिवारको सहमति भए विवाह गर्ने उनीहरूको भनाइ छ।

घटनाबारे थप बुझ्न दुवै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।