सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
नेकपा (एमाले)ले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। त्यसपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन उनले प्रदेश सभा बैठक आह्वान गर्न सचिवालयलाई पत्राचार गरेका थिए।
मुख्यमन्त्रीको पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीले बिहीबार साँझ ५ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार बैठकको मुख्य कार्यसूची मुख्यमन्त्री शाहले विश्वासको मत लिने विषय रहेको छ।
यद्यपि, प्रदेश सभामा शाहले विश्वासको मत पाउने सम्भावना न्यून रहेको राजनीतिक वृत्तमा चर्चा छ। स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्। त्यसपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताइएको छ।
शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। एमाले र नेकपा (माओवादी केन्द्र)बीच नयाँ सरकार गठनका लागि सहमति बनेको बताइएको छ।
नयाँ सत्ता समीकरणअनुसार माओवादी केन्द्रका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको स्रोतको दाबी छ। भट्ट यसअघि पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भइसकेका छन्।
मुख्यमन्त्री शाहको सम्भावित राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने देखिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
