घटना

बाघको आक्रमणबाट भरतपुरका मङ्गल बोटेको मृत्यु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन उपाय खोज्न माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन, २८ साउन । भरतपुर महानगरपालिका–२८, जितपुर निवासी मङ्गल बोटेको बाघको आक्रमणबाट मृत्यु भएको घटनाप्रति स्थानीयवासी तथा सरोकारवालाले दुःख व्यक्त गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन तथा वैज्ञानिक उपाय अपनाउन माग गरेका छन्।

बोटेको २०८३ साल साउन २६ गते बिहान मर्निङ वाकमा निस्किएका बेला बाघको आक्रमणबाट मृत्यु भएको बताइएको छ। घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत बोटेको चिरशान्तिको कामना गरिएको छ।

घटनापछि मानव बस्ती आसपास वन्यजन्तुको गतिविधि बढ्न नदिन सम्बन्धित निकायले दीर्घकालीन रणनीति बनाउनुपर्ने आवाज उठेको छ। मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा पानी, घाँसेमैदान र आहारको पर्याप्त व्यवस्था गर्दा वन्यजन्तु ती क्षेत्रमा आकर्षित हुन सक्ने र त्यसको असर आसपासका बस्तीमा पर्न सक्ने स्थानीयको भनाइ छ।

वन्यजन्तुका लागि आवश्यक पानी, चरन र प्राकृतिक आहारको व्यवस्थापन राष्ट्रिय निकुञ्जभित्रै वैज्ञानिक ढंगले गर्नुपर्नेमा जोड दिइएको छ। वनमारा लगायतका अतिक्रमणकारी वनस्पतिका कारण उजाड बनेका वन क्षेत्रको व्यवस्थापन गरी त्यस्ता क्षेत्रमा पानीका स्रोत, घाँसेमैदान तथा वन्यजन्तुको प्राकृतिक आहारको व्यवस्था गर्न सके वन्यजन्तुलाई सामुदायिक वन र मानव बस्ती नजिक आउनबाट रोक्न सकिने बताइएको छ।

यसका लागि राष्ट्रिय निकुञ्ज, वन कार्यालय, स्थानीय तह तथा संरक्षणसँग सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाको भनाइ छ।

वन्यजन्तु संरक्षणसँगै स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सरोकारवालाले अबको प्राथमिकता वन्यजन्तुको संरक्षणसँगै स्थानीय नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुनुपर्ने बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।