मनाङको तल्लो क्षेत्रमा हाई डेन्सिटी स्याउ उत्पादनमा सफलता, युवा किसान उत्साहित

मनाङ । मनाङको तल्लो क्षेत्रमा नयाँ प्रविधिबाट गरिएको हाई डेन्सिटी स्याउ खेतीले उत्पादन दिन थालेसँगै युवा किसान उत्साहित भएका छन्। नासो गाउँपालिका–८, ताचैमा आधुनिक प्रविधिबाट स्थापना गरिएको स्याउ बगैँचामा लटरम्म स्याउ फलेपछि स्थानीयस्तरमा यसको चर्चा बढेको छ।
युवा किसान सोलबहादुर गुरुङले स्थापना गरेको हाई डेन्सिटी स्याउ बगैँचामा यस वर्ष पहिलोपटक उत्पादन भएको हो। लटरम्म फलेका स्याउ टिपेर डोकोमा राखिएको तस्वीर सोलबहादुरकी श्रीमती काशी गुरुङले खिचेकी हुन्, जुन तस्वीरले अहिले सामाजिक सञ्जालमा समेत ध्यान तानेको छ।
परम्परागत रूपमा गरिँदै आएको स्याउ खेतीभन्दा फरक प्रविधिबाट उच्च घनत्वमा बोट रोपेर खेती गरिएको हो। कम दूरीमा धेरै बोट रोपिने भएकाले छोटो समयमै उत्पादन लिन सकिने र सीमित क्षेत्रफलबाट समेत राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको बताइएको छ।
स्थानीयका अनुसार सोलबहादुरले आधुनिक प्रविधि अपनाउँदै स्याउ खेती सुरु गरेका हुन्। पहिलो उत्पादनमै राम्रो फल लागेपछि उनीसहित स्थानीय किसानमा व्यावसायिक स्याउ खेतीप्रति थप उत्साह बढेको छ।
तल्लो मनाङको हावापानी स्याउ खेतीका लागि क्रमशः अनुकूल बन्दै गएको र नयाँ प्रविधिको प्रयोगले उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाई डेन्सिटी प्रविधिबाट स्याउ खेती विस्तार गर्न सके मनाङको स्याउ उत्पादनसँगै किसानको आम्दानीसमेत वृद्धि हुने सम्भावना देखिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
