जलवायु

रसुवामा बाढीको कहर : १६ प्रहरी सम्पर्कविहीन, पाँच जना सम्पर्कमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १० भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लाका तीनवटा प्रहरी कार्यालयमा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार भोटेकोशीमा आएको बाढीले रसुवामा अकल्पनीय क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण प्रहरी कार्यालय तथा संरचनामा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लाका इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढी बाढीबाट प्रभावित भएका छन्। यी प्रहरी कार्यालय तथा आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।

प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये हालसम्म पाँच जना प्रहरी सम्पर्कमा आएका छन्। उनीहरू टिमुरे क्षेत्रबाट सम्पर्कमा आएको डीआईजी काफ्लेले बताए। तर बाँकी १६ जना प्रहरीको अवस्थाबारे भने यकिन जानकारी प्राप्त हुन सकेको छैन।

प्रहरीका अनुसार स्याफ्रुबेँसीमा कार्यरत नौ प्रहरीसहित रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका प्रहरीहरू समेत सम्पर्कमा आउन सकेका छैनन्। बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध भएकाले उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भइरहेको बताइएको छ।

प्रहरी कार्यालयमा क्षति पुगे पनि त्यहाँ कार्यरत प्रहरीहरू सुरक्षित स्थानमा पुगेका छन् वा बाढीको प्रत्यक्ष प्रभावमा परेका छन् भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास भइरहेको जनाएको छ।

डीआईजी काफ्लेले बाढीले प्रहरी कार्यालयका संरचना मात्रै बगाएको हो वा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीसमेत प्रभावित भएका हुन् भन्ने यकिन विवरण प्राप्त नभएको बताए।

भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा सडक, पुल, सरकारी तथा निजी संरचनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरणहरू सार्वजनिक भइरहेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

विशेषगरी टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी र मैलुङ आसपासका क्षेत्रमा बाढीको प्रभाव बढी देखिएको छ। केही स्थानमा सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा घटनाको पूर्ण विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

सम्पर्कविहीन रहेका प्रहरीहरूको अवस्थाबारे थप विवरण प्राप्त भएपछि मात्रै बाढीबाट भएको मानवीय क्षतिको वास्तविक अवस्था स्पष्ट हुने प्रहरीले जनाएको छ। अहिले सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा क्षतिको विवरण संकलनलाई प्राथमिकतामा राखेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।