त्रिशूलीको भीषण बाढीले त्रिशूली–३ बी आयोजनामा ठूलो क्षति, सयौ कामदारको अवस्था अज्ञात

रसुवा । त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढी अत्यन्तै तीव्र गतिमा आएपछि आयोजनास्थलमा कार्यरत करिब ३०० कामदारमध्ये धेरै जना सम्पर्कविहीन भएका छन्।
आयोजनास्थलमा कार्यरत रसुवाका रामप्रसाद पौडेलका अनुसार बुधबार बिहान करिब पौने १० बजे अचानक ठूलो आवाज सुनिएको थियो। त्यसलगत्तै सुरुङभित्रबाट हावाको तीव्र वेग आएको र जमिन जोडसँग हल्लिएपछि कामदारहरूले भूकम्प आएको अनुमान गरेका थिए।
तर केहीबेरमै त्रिशूली नदीमा अस्वाभाविक रूपमा ठूलो बाढी आएको थाहा भएको पौडेलले बताए। उनका अनुसार बाढी यति तीव्र गतिमा आएको थियो कि आयोजनामा कार्यरत अधिकांश कर्मचारीलाई सुरक्षित स्थानतर्फ भाग्ने अवसरसमेत मिलेन।
‘सुरुङबाट यस्तो हावा आयो कि पातपतिङ्गर सबै उडाएर ल्यायो। भूकम्प आयो भनेर हामी भाग्यौँ। पछि हेर्दा त खोलामा भयंकर बाढी आएको रहेछ,’ पौडेलले बताए।
आफू आयोजनाको बाहिरी भागमा र केही अग्लो स्थानमा रहेकाले भागेर ज्यान जोगाउन सफल भएको उनले बताए। उनका अनुसार आयोजनामा कार्यरतमध्ये हालसम्म करिब २०–३० जना सम्पर्कमा आएका छन् भने अन्य कामदारको अवस्था अझै थाहा हुन सकेको छैन।
पौडेलका अनुसार बाढीले आयोजनाको संरचनासहित त्रिशूली नदी आसपासका बस्ती र भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। बाढीको बहावले बाटोमा भेटिएका संरचना, सामान तथा अन्य वस्तुहरू बगाउँदै लगेको उनले बताए।
आयोजनास्थलबाट भागेर उनी दामदानी पुगेका छन्। सुरक्षित स्थानमा पुगे पनि त्यहाँ आवश्यक औषधि तथा अन्य आधारभूत सामग्रीको अभाव रहेको उनको भनाइ छ।
‘प्रेसरको औषधि खानुपर्ने हुन्छ। त्रिशूली नदी वारिपारि गर्ने अवस्था छैन। पुल छैन, बिजुली छैन। औषधि ल्याउने उपाय पनि छैन,’ उनले भने।
बाढीले आयोजनास्थलको अवस्था पूर्ण रूपमा बदलिदिएको पौडेलले बताए। उनका अनुसार आयोजनाका संरचना कहाँ थिए भनेर छुट्याउनसमेत नसकिने अवस्था छ।
‘कुनै पनि चिह्न छैन। नदीको दायाँ–बायाँ केही पनि बाँकी छैन,’ उनले भने।
उनका अनुसार भूगोलअनुसार बाढीको प्रभाव फरक देखिएको छ। साँघुरा स्थानमा पानी निकै माथिसम्म पुगेको छ भने होचा क्षेत्रमा बाढीले बस्ती नै बगाएको छ।
‘खोलाको दायाँ–बायाँका कुनै बस्ती पनि बाँकी छैनन्। केहीबेरमै केही पनि बाँकी रहेन,’ पौडेलले बताए।
बाढीका कारण आयोजनास्थलमा रहेका कामदारको अवस्था, आयोजनाको क्षतिको वास्तविक विवरण तथा आसपासका बस्तीमा भएको मानवीय क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
