बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन, लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसे

पोखरा । बाढीका कारण देशका विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त विवरणका आधारमा झन्डै चार सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको हो।
पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली छन्। ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग विवरण पुष्टि गरेपछि बोर्डले पर्यटकहरू सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गरेको हो।
बाढीका कारण पर्यटकीय क्षेत्रसँगै जलविद्युत् आयोजनामा समेत ठूलो समस्या देखिएको छ। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र २५ जनाभन्दा बढी मजदुर फसेका छन्।
२० मेगावाट क्षमताको आयोजनाको सुरुङमा काम गरिरहेका मजदुर बाढीपछि बाहिर निस्कन नसकेको आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सचिव विजयमोहन भट्टराईले जानकारी दिए।
उनका अनुसार नदीको सतहभन्दा करिब १ सय मिटरमाथि रहेको सुरुङमा मजदुरहरू काम गरिरहेका थिए। बाढीपछि उनीहरू सुरुङमै फसेका हुन्। फसेका मजदुरसँग मोबाइल सम्पर्कसमेत हुन नसकेको भट्टराईले बताए।
आयोजनामा करिब ६० जना मजदुर कार्यरत रहेको र तीमध्ये सबैको अवस्थाबारे पूर्ण विवरण प्राप्त हुन नसकेको उनले जानकारी दिए।
बाढीका कारण पर्यटक तथा जलविद्युत् आयोजनामा कार्यरत मजदुर सम्पर्कविहीन भएपछि उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा सञ्चार, सडक तथा यातायात सम्पर्कसमेत अवरुद्ध हुँदा घटनाको वास्तविक क्षतिको विवरण संकलनमा कठिनाइ भएको बताइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
