टीकापुर उद्योग वाणिज्य संघद्वारा विपद् राहत कोषमा १ लाख ११ हजार १११ सहयोग

टीकापुर, १४ भाद्र । कैलालीको टीकापुर उद्योग वाणिज्य संघले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

संघले पछिल्लो समय विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

संघले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा आम नागरिक एकजुट भएर प्रभावितको सहयोगमा जुट्नुपर्ने आवश्यकता औँल्याएको छ।

विपद्बाट प्रभावितको तत्काल उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको संघले जनाएको छ।


