झापामा ससुराको कुटपिटका क्रममा तीनमहिने शिशुको मृत्यु

२५ असोज, झापा । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा ससुराले बुहारीमाथि कुटपिट गर्दा काखमा रहेका तीनमहिने शिशुको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार असोज २३ गते दिउँसो १ः२० बजे शिविरको सेक्टर डी–२ मा घरायसी विषयलाई लिएर परिवारका सदस्यबीच विवाद भएको थियो। विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङले ३८ वर्षीया बुहारी बिमला भारतीमाथि कुटपिट गरेका थिए। सोही क्रममा बिमलाको काखमा रहेका तीनमहिने छोरा सामेल तामाङ घाइते भएका थिए।

घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो २ः०५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा मनबहादुरकी ६२ वर्षीया श्रीमती आशा तामाङ र ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङसमेत संलग्न रहेको आरोपमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


