हरियाणाको समालखामा कात्तिक ६ देखि ९ गतेसम्म निरंकारी सन्त समागम, लाखौँ सन्तको सहभागिता हुने

समालखा (हरियाणा), २१ अक्टोबर। भारतको हरियाणास्थित समालखामा कात्तिक ६ देखि ९ गतेसम्म आयोजना हुने निरंकारी सन्त समागममा नेपालसहित विभिन्न देशबाट लाखौं सन्त–भक्त सहभागी हुने भएका छन्। चार दिनसम्म चल्ने समागममा सत्संग, आध्यात्मिक प्रवचन, निरंकारी प्रदर्शनी, बाल प्रदर्शनी तथा स्वास्थ्य सेवासहितका कार्यक्रम सञ्चालन गरिनेछन्।

समागमको मुख्य आकर्षणका रूपमा रहने निरंकारी प्रदर्शनीमा सन्त निरंकारी मिसनको इतिहास, आध्यात्मिक गतिविधि र समाजकल्याणका कार्यक्रम समेटिनेछन्। रक्तदान, वृक्षारोपण, सरसफाइ अभियानलगायत सामाजिक सेवाका गतिविधिसँगै मिसनद्वारा हालै उद्घाटन गरिएको हेल्थ सिटी अस्पतालबारे पनि जानकारी दिइनेछ।

समागमस्थलमा मिसनको प्रकाशन विभागद्वारा प्रकाशित विभिन्न आध्यात्मिक पुस्तक तथा निरंकारी साहित्य उपलब्ध हुनेछन्। त्यसैगरी, निरंकारी मिसनसँग सम्बन्धित टिसर्ट, टोपी, किचन सामग्री, थर्मस, ज्याकेटलगायत वस्तुका स्टल पनि रहनेछन्। पुस्तक तथा साहित्यको अध्ययनबाट श्रद्धालुले मिसनको ब्रह्मज्ञान र आध्यात्मिक दर्शनबारे थप जानकारी लिन सक्नेछन्।

ज्ञान प्राप्त गर्न इच्छुक व्यक्तिका लागि पण्डालभित्र विभिन्न स्थानमा चौबिसै घण्टा ज्ञान कक्षको व्यवस्था गरिएको छ। त्यहाँ इच्छुकले ब्रह्मज्ञानबारे जानकारी लिन सक्नेछन्। समागममा बाल प्रदर्शनीसमेत सञ्चालन गरिनेछ भने कायरोप्र्याक्टिस तथा अन्य स्वास्थ्य सेवामार्फत सहभागीको स्वास्थ्यमा ध्यान दिइने जनाइएको छ।

लाखौं श्रद्धालुको सहभागितालाई ध्यानमा राख्दै समागमस्थलमा आधुनिक शौचालय, क्यान्टिन तथा अन्य आधारभूत सुविधाको व्यवस्था गरिएको छ। क्यान्टिनमा न्यूनतम मूल्यमा पौष्टिक खाद्यपदार्थ उपलब्ध गराइनेछ, जसले टाढाटाढाबाट आउने सन्त–भक्तलाई सहज हुने अपेक्षा गरिएको छ।
समागमका चारै दिन सत्गुरु माता सुदीक्षा जी महाराजको आध्यात्मिक प्रवचन सुन्न तथा सत्गुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित जीको प्रत्यक्ष दर्शन गर्न श्रद्धालुले अवसर पाउनेछन्। सत्संगमा सन्त–भक्तका भजन तथा प्रवचनसमेत प्रस्तुत गरिनेछन्।
आयोजकले समागमलाई आध्यात्मिक ज्ञान प्राप्त गर्ने, आत्मचिन्तन गर्ने र मानव जीवनको उद्देश्य बुझ्ने अवसरका रूपमा लिएका छन्। श्रद्धालुलाई समालखास्थित निरंकारी आध्यात्मिक स्थलमा उपस्थित भई सत्संग, सेवा र आध्यात्मिक गतिविधिमा सहभागी हुन आग्रह गरिएको छ।



You must be logged in to post a comment.