टीकापुर अस्पतालमा जनशक्ति, उपकरण र सरसफाइको अभाव

टीकापुर, १५ कात्तिक । टीकापुर प्रादेशिक अस्पतालमा सेवा प्रवाह कमजोर भएको र बिरामीले आवश्यक उपचार नपाएको गुनासो बढेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी र ललिता सुनारले अस्पतालको अनुगमन गरेका छन् ।

अस्पतालमा अल्ट्रासाउन्ड (यूएसजी) सेवा उपलब्ध नभएपछि एक सेवाग्राहीलाई नेपालगन्ज र कोहलपुर रिफर गर्न खोजिएको गुनासो आएपछि आफूहरू अनुगमनमा पुगेको प्रदेशसभा सदस्य चौधरीले बताए । राति करिब १२ बजे सेवाग्राहीले फोनमार्फत उपचार नपाएको गुनासो गरेपछि बिहानै अस्पताल पुगेको उनको भनाइ छ ।

अनुगमनका क्रममा इमर्जेन्सी, प्रसूति गृह, जनरल वार्ड, आईसीयू र फार्मेसीलगायतका सेवाको अवस्था निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा अस्पतालमा पर्याप्त जनशक्ति नहुनु, अक्सिजनको पाइपलाइन निरन्तर सञ्चालनमा नरहनु र सरसफाइको अवस्था कमजोर हुनु प्रमुख समस्या देखिएको चौधरीले बताए ।

उनका अनुसार अर्थोपेडिक शल्यक्रियाका लागि आवश्यक उपकरण (किट्स) अस्पतालमा उपलब्ध छैनन् । सम्बन्धित चिकित्सक तथा कर्मचारीले निजी क्षेत्रबाट उपकरण ल्याउनुपर्ने अवस्था रहेको जानकारी गराएको उनले बताए । प्रसूति गृहमा बेडसिटको अभाव र चिसो मौसमअनुसार आवश्यक व्यवस्थापन नहुँदा बिरामीले समस्या भोग्नुपरेको पनि उनले उल्लेख गरे ।
अस्पताल भवनका विभिन्न स्थान तथा बिरामीका आफन्त बस्ने प्रतीक्षालयमा समेत फोहोर देखिएको भन्दै चौधरीले सरसफाइमा गम्भीर कमजोरी रहेको बताए ।
अनुगमनपछि अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेन्टसँग सम्पर्क गर्ने प्रयास गरे पनि फोन नउठेको उनले बताए ।
‘यो क्षेत्रको जनप्रतिनिधिका नाताले अस्पतालमा देखिएका कमी–कमजोरी सुधार गर्न हाम्रो जिम्मेवारी हो,’ चौधरीले भने, ‘समस्या पहिचान गरेर त्यसको निराकरणका लागि हामी आफ्नो तर्फबाट पहल गर्नेछौँ ।’
अस्पतालमा देखिएका समस्याको समाधानका लागि आवश्यक जनशक्ति, उपकरण, अक्सिजन आपूर्ति र सरसफाइ व्यवस्थापनमा प्रदेश सरकार तथा अस्पताल प्रशासनको ध्यान जानुपर्ने देखिएको छ ।


