टीकापुर

कांग्रेस कमजोर भए देश कमजोर हुन्छ : डा. रणबहादुर रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ असोज । नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वआन्तरिक मामिला मन्त्री डा. रणबहादुर रावलले कांग्रेस कमजोर भए मुलुकलाई आफूअनुकूल बनाउन खोज्ने शक्तिहरू सक्रिय हुने बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत टीकापुर नगरपालिका–२ को वडा अधिवेशनलाई सम्बोधन गर्दै रावलले पार्टीभित्र देखिएको विभाजन र दुई धारले कांग्रेसलाई कमजोर बनाउने भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

लोक कल्याणकारी विज्ञापन

‘दाग लगाउन खोज्नेहरूले पार्टीलाई टुटाउन खोजेका छन्,’ उनले भने, ‘कांग्रेस कमजोर भयो भने देश हामीले जे चाह्यो, त्योअनुसार हुन सक्छ भन्ने सोच राख्नेहरू सक्रिय छन्।’

लोक कल्याणकारी विज्ञापन

रावलले युवाको नाममा हुने गतिविधिमा पनि प्रश्न उठाउँदै नाम युवाको भए पनि काम भने गैरजिम्मेवार र गलत प्रवृत्तिका व्यक्तिहरूबाट भइरहेको आरोप लगाए। त्यस्ता गतिविधि रोक्न पार्टीभित्र जिम्मेवार र सचेत नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

वडा अधिवेशनबाट चयन हुने कार्यसमितिलाई उनले पार्टीको संगठन सुदृढीकरणसँगै नागरिकका अधिकार, युवाको सहभागिता र महिलाको अधिकारका विषयमा काम गर्न आग्रह गरे। ‘जिम्मेवारी लिनुस्, तपाईंहरूको साथ दिन हामी तयार छौं,’ उनले भने, ‘आवश्यक परे आफ्नो पद त्यागेर पनि तपाईंहरूको पक्षमा काम गर्न तयार छौं।’

रावलले लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारको संरक्षणका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए। अधिकार एक दिनका लागि नभई दीर्घकालसम्म सुरक्षित हुनुपर्ने भन्दै उनले पार्टीको नियमित अधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

कांग्रेसमा अहिले देखिएको दुई धारको प्रसंग उल्लेख गर्दै उनले पार्टीको हरेक तहमा निश्चित समयावधिभित्र अधिवेशन हुनुपर्ने बताए। पार्टी सभापति शेरबहादुर देउवाको कार्यकाल सकिनुअघि नियमित अधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।

विशेष अधिवेशनका नाममा भएका गतिविधिले पार्टी र मुलुकलाई थप अस्थिरतातर्फ लैजान सक्ने भन्दै रावलले कांग्रेसको नियमित अधिवेशन र संगठनात्मक प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिए। पार्टीलाई एकताबद्ध बनाएर मात्रै मुलुकको लोकतान्त्रिक व्यवस्था र नागरिक अधिकारको रक्षा गर्न सकिने उनले बताए।

कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम नगार्जी, पूर्वप्राध्यापक डा. जगतसिंह रावललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। वडा अधिवेशनलाई उनहरूले पार्टी संगठन निर्माणको नियमित प्रक्रिया मात्र नभई आगामी नेतृत्वको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिन कार्यकर्तालाई आग्रह गरे।

लोक कल्याणकारी विज्ञापन
AD