तिकुनियामा लागूऔषध सेवन गर्ने युवामाथि प्रहरी निगरानी

टीकापुर, १७ कात्तिक । कैलालीको टीकापुर तथा आसपासका क्षेत्रबाट सीमावर्ती भारतीय बजार तिकुनियामा लागूऔषध सेवन गर्न जाने युवाहरू प्रहरीको निगरानीमा पर्न थालेका छन् । सीमावर्ती क्षेत्रबाट लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरूमाथि प्रहरीले निगरानी बढाउँदै पक्राउ गर्न थालेपछि केही प्रयोगकर्ता भारतीय बजार तिकुनिया पुगेर लागूऔषध सेवन गरी फर्किने गरेको पाइएको छ ।

लागूऔषध ओसारपसारमा प्रहरीको कडाइ बढेसँगै सेवनकर्ताहरूले सीमापारिको बजारलाई प्रयोग गर्न थालेको बताइएको छ । यसपछि प्रहरीले लागूऔषध बिक्री तथा ओसारपसारमा संलग्न व्यक्तिसँगै सेवनकर्तामाथि पनि निगरानी र कारबाही प्रक्रिया अघि बढाउन थालेको छ ।

लागूऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियता आवश्यक भए पनि यससँग जोडिएको अर्को गम्भीर पक्ष बालबालिका तथा किशोरकिशोरीको भविष्य हो । लागूऔषधको लतमा फस्दै गरेका कलिला उमेरका बालबालिका कानुनी कारबाहीको दायरामा पुग्दा उनीहरूको भविष्य कस्तो होला भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।

लागूऔषध नियन्त्रणको सम्पूर्ण जिम्मेवारी प्रहरीको मात्रै हो त ? आफ्ना छोराछोरी कहाँ जान्छन्, कोसँग संगत गर्छन् र उनीहरूको दैनिक गतिविधि कस्तो छ भन्ने विषयमा अभिभावक कति सचेत छन् ? बालबालिका गलत संगतमा पर्दै गर्दा समयमै पहिचान गरी सही बाटोमा ल्याउने जिम्मेवारी परिवारको पनि होइन र ?
प्रहरीले निगरानी र कानुनी कारबाही गर्नु आफ्नो दायित्व हो । तर, लागूऔषधको समस्या नियन्त्रण गर्न प्रहरीको सक्रियतासँगै परिवार, विद्यालय, समुदाय र स्थानीय तहको भूमिका पनि उत्तिकै आवश्यक देखिन्छ । विशेषगरी किशोरावस्थाका बालबालिकालाई गाली वा दण्डभन्दा पनि माया, संवाद, उचित निगरानी र परामर्शमार्फत कुलतबाट जोगाउन सकिन्छ ।
लागूऔषध सेवनमा संलग्नलाई कारबाही गर्नु मात्रै समस्याको दीर्घकालीन समाधान होइन । यसको जड पहिचान गरी सेवनकर्तालाई उपचार, परामर्श र पुनःस्थापनाको अवसर दिनु पनि आवश्यक छ । अन्यथा, आज कुलतमा फसेका बालबालिका भोलि समाजकै लागि अर्को चुनौती बन्न सक्छन् ।
त्यसैले लागूऔषध नियन्त्रणमा प्रहरीलाई मात्रै दोष दिने वा जिम्मेवारी सुम्पिने प्रवृत्तिभन्दा अभिभावकले पनि आफ्ना छोराछोरीको गतिविधिप्रति समयमै चासो र निगरानी बढाउनुपर्ने देखिन्छ । लागूऔषधमुक्त समाज निर्माण प्रहरीको प्रयासले मात्रै होइन, परिवार र समुदायको साझा जिम्मेवारीबाट सम्भव हुन्छ ।


