प्रवास

भारतबाट फर्किए साढे दुई लाख

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज, असोज २५ गते । दसैँ र तिहार मनाउन यहाँस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । 

इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी अनुसार असोज १ गतेदेखि हालसम्म चाडपर्व मनाउन जमुनाहा नाका भएर दुई लाख ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । 

बिज्ञापन

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारी र अध्ययनका लागि भारतका विभिन्न ठुलठुला सहरमा गएका नेपालीहरू चाडपर्व मनाउन हुलका हुल स्वदेश फर्किएको बताउनुभयो । 

उहाँले गत भदौदेखि नै चाडपर्व मनाउन नेपालीहरू देश फर्किने क्रम सुरु भए पनि असोज १ गतेबाट ठुलो सङ्ख्यामा फर्किएको जनाउँदै यो नाकाबाट दुई लाख ५५ हजार १५६ जना नेपाली स्वदेश फर्किएको बताउनुभयो । 

रिक्सा, ई रिक्सा, बस, हाइस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा नेपाल प्रहरीले सचेतना अभियान चलाउनुका साथै सहायता कक्ष पनि सञ्चालन गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताउनुभयो । 

उहाँले चाडपर्व मनाउन स्वदेश फर्किनेलाई सहज रूपमा नाका पार गर्ने वातावरण बनाइएको जनाउँदै त्यसका लागि सीमापारि भारतीय सुरक्षा नाकामा तैनाथ सुरक्षाकर्मीसँग पनि समन्वय गरिएको बताउनुभयो । 

अन्य दिनमा राति १० बजे भारतले बन्द गर्नेे नेपाल–भारत नाका हाल दसैँ मनाउन आउनेलाई ध्यानमा राखेर राति ११ बजेसम्म पनि खुला राखेको इन्चार्ज बुढाथोकीले बताउनुभयो । 

अहिले चाडपर्वका लागि स्वदेश फर्किरहेका नेपालीहरूको फर्किने क्रम दसैँ र सोपछि पनि जारी रहने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयका अनुसार चाडपर्व सकिएपछि फेरि भारत फर्किनेको लर्को नाकामा सुरु हुने छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।