बिश्व

आतंकको पछिल्लो छाया अष्ट्रेलियामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विश्व शान्तिको सपना देखिरहँदा आतंकवादको छायाले फेरि एकपटक मानव सभ्यतालाई झस्काएको छ । आतंकको पछिल्लो छाया अष्ट्रेलियासम्म देखिनु केवल एउटा देशको सुरक्षा चुनौती मात्र होइन, यो समग्र विश्व समुदायका लागि गम्भीर चेतावनी हो । भौगोलिक दूरी, कडा सुरक्षा व्यवस्था र विकसित राज्य संरचनाका बाबजुद आतंकको जोखिमबाट कुनै पनि राष्ट्र पूर्णरूपमा सुरक्षित छैन भन्ने यथार्थ यस घटनाले पुनः उजागर गरेको छ ।

अष्ट्रेलिया लामो समयदेखि शान्त, सुरक्षित र स्थिर राष्ट्रको रूपमा परिचित रहँदै आएको छ । तर, पछिल्लो घटनाले झस्काएको छ । विश्वव्यापी रूपमा हेर्दा, आतंकवाद आज केवल बन्दुक र बममा सीमित छैन । धार्मिक अतिवाद, राजनीतिक ध्रुवीकरण, जातीय घृणा, आप्रवासनसम्बन्धी असन्तोष र सामाजिक बहिष्करण जस्ता कारणहरूले आतंकको बीउ रोपिरहेका छन् । अष्ट्रेलियामा देखिएको पछिल्लो आतंकको छायाले सुरक्षा संयन्त्र मात्र होइन, समाजको सहिष्णुता र एकतालाई पनि चुनौती दिएको छ ।

बिज्ञापन

बोण्डाई बिचमा गोलीकाण्ड : १६ जनाको मृत्यु
अष्ट्रेलियाको सिड्नीस्थित बोण्डाई बिचमा आइतबार साँझ भएको गोलीकाण्डले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको छ । घटनामा १० वर्षीया बालिकासहित १६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मृतकमध्ये एक आक्रमणकारी पनि रहेका छन् । न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले घटनाको पुष्टि गर्दै समुदायका सदस्यहरूलाई शोक व्यक्त गर्नुभएको छ । मृतकहरू १० वर्षदेखि ८७ वर्षका बीचका नागरिक रहेका छन् ।

प्रहरी आयुक्त माल लानियानका अनुसार आक्रमणकारीहरू बुबा-छोरा हुन् । ५० वर्षीय साजिद अक्रम र २४ वर्षीय उनका छोरा नविद अक्रमले आक्रमण गरेका थिए । प्रहरीले बुबालाई घटनास्थलमै गोली हानी मारिएको जनाइएको छ भने छोराको अवस्था गम्भीर छ ।

घटनास्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीहरू सहित ४२ जना घाइते भएका थिए । केहीको अवस्था गम्भीर छ । प्रारम्भिक अनुसन्धानमा ५० वर्षीय आक्रमणकारीसँग वैध बन्दुक अनुमति रहेको र उनका नाममा ६ वटा हतियार दर्ता भएको पाइएको छ । घटनास्थलबाट थप तीन हतियार बरामद गरिएको छ । साथै दुई सक्रिय विस्फोटक पदार्थ पनि फेला परे, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ ।

सिड्नीको पश्चिमी क्षेत्र क्याम्प्सी र बोनिरिगमा प्रहरीले रातभर खोजतलास सञ्चालन गरेको थियो । प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाको जवाफ दिन आवश्यक सबै स्रोत प्रयोग गरिने बताउनुभयो । उहाँले यहुदीविरोधी भावनालाई उखेल्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री अल्बानिजीले यो घटनालाई ‘शुद्ध दुष्टता, एन्टिसेमिटिज्म र आतंकवाद’ भन्दै यहुदी समुदाय लक्षित हमला भन्नुभएको छ । उहाँले बोण्डी बिच ‘सधैँका लागि कलंकित भएको’ उल्लेख गर्नुभएको छ । न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्सले पनि यो भयानक रात भएको बताउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।