एमाले नेता महर एक लाख धरौटीमा रिहा, उनकी श्रीमती श्रेष्ठ पक्राउ

एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्। विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख धरौटी माग गरेको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिए। उनले भने, ‘महरविरुद्ध एक लाख धरौटी माग भएको छ। रकम बुझाएर उहाँ आजै रिहा हुनुभएको छ। उहाँ आज अदालतमा बयान दिन आउनुभएको थियो। सोही क्रममा उहाँले धरौटी रकम बुझाउनुभएको हो।’

सोही कसुरमा महरकी श्रीमती सनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको छ। महरदम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार थिए।
अदालतमा दर्ता भएको सोही मुद्दामा सोमबार पेसी थियो। थुनछेक बहसका क्रममा महरका लागि धरौटी माग भयो। तर, श्रेष्ठको सम्बन्धमा भने बहस नसकिएपछि उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
