सुदूरपश्चिम प्रदेश

सडक विस्तारले फेरियो धनगढीको स्वरूप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फुटपाथ र मिडियनसहित चार लेन सडक निर्माण भएपछि धनगढी बजारको स्वरूप फेरिएको छ । केही वर्षअघिसम्म साँघुरो र अव्यवस्थित सडक रहेको धनगढीमा फराकिलो र सुविधासम्पन्न सडक पूर्वाधार निर्माणले आवत–जावतमा सहज मात्र भएको छैन, सहरी सौन्दर्य पनि बढेको छ ।

मुख्य बजार क्षेत्रअन्तर्गत धनगढी चौराहादेखि क्याम्पस चोकसम्मै फुटपाथ, ढल निकास, मिडियन, सडक बत्तीसहितको चार लेन सडक निर्माण गरिएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको खण्डमा सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । चौराहादेखि कैलाली नालासम्मको खण्ड भने यसअघि नै निर्माण सम्पन्न भएको थियो ।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश सरकारको ५३ करोड ८२ लाख ८३ हजार रुपैयाँ लगानीमा कैलाली पुलदेखि क्याम्पस चोकसम्म २.३५ किलोमिटर सडक कालोपत्रेको काम सकिएको छ । निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले अहिले सडक मार्किङ गर्ने, रङरोगन गर्ने, जेब्राक्रसिङ बनाउने, पेन्टिङ गरेर साइकिल लेन छुट्याउने, केही ठाउँमा फुटपाथ बनाउने काम गरिरहेको छ । पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख दीपक नेगीले भौतिक प्रगति ९७ प्रतिशत रहेको जानकारी दिए । ‘सडक विस्तारको काम लगभग सकिएको छ,’ उनले भने, ‘रोड मार्किङलगायत फिनिसिङका केही काम भइरहेका छन् ।’ 

आधुनिक सहरी पूर्वाधारअनुसार बनाइएको यो सडक दुवैतर्फ गरी १९ मिटर चौडाइमा कालोपत्रे गरिएको छ । त्यसमध्ये साढे दुई मिटर साइकल लेनका लागि रहेको पूर्वाधार कार्यालय प्रमुख नेगीले जानकारी दिए । चार लेन सडकबिचमा मिडियन राखिएको छ । ३.८० मिटर चौडाइको फुटपाथ तथा ढल निकासका लागि डेढ मिटर चौडा नाली निर्माण गरिएको छ । यो खण्डमा धनगढी उपमहानगरपालिकाले स्ट्रिट लाइट जडानको काम गरिरहेको छ ।

 मुख्य बजार क्षेत्रअन्तर्गत धनगढी चौराहादेखि कैलाली पुलसम्म १.३८ किलोमिटर चार लेन सडक एसियाली विकास बैंकको ऋण लगानीमा संघीय सरकारद्वारा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिएको हो । यो खण्ड स्मार्ट स्ट्रिट लाइटले झिलिमिली छ भने मिडियनमा बिरुवा लगाएर हरियाली प्रवद्र्धन गरिएको छ । मुख्य बजार क्षेत्रको दुवै खण्डको सडकमा रेलिङसहितको फुटपाथ छ । केही ठाउँमा उपमहानगरले शौचालय र पार्किङ स्थलको व्यवस्था गरेको छ ।

बजार विस्तार हुँदै गएको धनगढी क्याम्पसचोकदेखि पूर्व तीन किलोमिटर सडक हुलाकी राजमार्गअन्तर्गत चार लेनमा निर्माण गरिएको छ । नगरप्रमुख गोपाल हमालको सक्रियतामा कैलाली पुलदेखि क्याम्पस चोकसम्मको खण्डमा सडक विस्तारका क्रममा चार सय २८ भन्दा बढी संरचना भत्काइएका थिए । सडकको ३० मिटर क्षेत्राधिकार खाली गराउने उपमहानगरको अभियानमा अधिकांश स्थानीयले स्वतस्फूर्त संरचना हटाएर साथ दिएका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।