सर्वसाधारणको नामबाट डिजिटल वालेट चलाउँदै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । सर्वसाधारणको नाम दुरुपयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट सञ्चालन गर्दै ठगी गर्ने सङ्गठित गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका व्यक्तिहरूले आफन्तका नाममा पठाएको रेमिट्यान्स झिक्न आएका सेवाग्राही महिलालाई लक्षित गरी ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीकाअनुसार रेमिट्यान्स झिक्न थप कागजात आवश्यक पर्ने बहानामा सेवाग्राहीको फोटो र नागरिकताको प्रतिलिपि संकलन गरी त्यसको दुरुपयोग गरिएको थियो । सङ्कलित विवरण प्रयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट तथा एकाउन्ट खोल्ने र ती एकाउन्टहरू ठगी गर्ने समूहलाई विक्री–वितरण गरिएको थियो ।
सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले सूक्ष्म अनुसन्धानपछि धनुषा जिल्लाका विभिन्न स्थानबाट गिरोहका मुख्य सदस्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित ‘मामा भान्जा ट्रेडर्स’ (रेमिट्यान्स काउन्टर) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, दीपशिखा मोबाइल पसलका सञ्चालक सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का साधु राम, जनकपुरधामको शिवचोकमा डेरा गरी बस्ने बलराम मण्डल, धनौजी–२ का रूपेश कुमार साह र निक्की कुमार राम रहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
