चीनको चेतावनी- अमेरिका अन्तर्राष्ट्रिय अराजकताको बाटो हिँड्यो, मादुरोलाई तत्काल रिहा गर

बेइजिङ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अपहरण गर्ने अमेरिकी कदमको चीनले कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रपति मादुरोलाई तत्काल रिहा गर्न समेत चीनले चेतावनी दिएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा विदेश मन्त्रालयको वक्तव्य उद्धृत गर्दै भनिएको छ- भेनेजुएलाको शासन व्यवस्था कमजोर पार्ने प्रयास तुरुन्त रोक्न र मादुरोलाई तत्काल रिहा गर्न हामी चेतावनी दिन चाहन्छौं । अन्तर्राष्ट्रिय नियम र कानुनलाई बेवास्ता गर्दै यदि जंगली कानून लागू गरिन्छ भने कुनै पनि सार्वभौम देश सुरक्षित रहँदैन ।

चीनले मादुरोको पक्राउलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर र राष्ट्रहरूको सार्वभौमिक समानताको सिद्धान्तको गम्भीर उल्लंघन भएको बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाद्वारा गरिएको सैन्य कारबाही र राज्य प्रमुखको अपहरणलाई “खुला हस्तक्षेप र शक्तिको दुरुपयोग” को संज्ञा दिएका छन्।
चिनियाँ टिप्पणीमा भनिएको छ- यदि कुनै शक्तिशाली देशले आफ्नो सैन्य र राजनीतिक शक्ति प्रयोग गरेर अर्को देशको निर्वाचित सरकारलाई अपदस्थ गर्न थाल्यो भने, त्यो अभ्यास विश्वका सबै साना र मध्यम राष्ट्रहरूका लागि खतरनाक नजिर बन्नेछ ।
‘आज भेनेजुएला, भोलि अरू कुनै देश,यही हो अन्तर्राष्ट्रिय अराजकतर्फको बाटो,’ सिन्ह्वाले उल्लेख गरेको छ।
चीनले भेनेजुएलासँग दीर्घकालीन कूटनीतिक र आर्थिक सम्बन्ध रहेको स्मरण गराउँदै मादुरो सरकारलाई वैध सरकारको रूपमा मान्यता दिँदै आएको छ। चीनले निरन्तर रूपमा संवाद, वार्ता र राजनीतिक समाधानमार्फत भेनेजुएलाको संकट समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
